काठमाण्डु – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई हप्ताका लागि युद्धविराम गर्न सहमत भएका छ ।
स्ट्रेट अफ हर्मुज तुरुन्त खोल्ने शर्तमा यस्तो सहमति भएएको राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत जनाएका छन् ।
ट्रम्पले लेखेका छन्, ‘इरानले वार्ताका लागि व्यावहारिक आधार प्रस्तुत गरेको छ ।’ उनले इरानको १० बुँदे शान्ति योजनाले फेब्रुअरी २८ देखि सुरु भएको युद्ध अन्त्य गर्न मद्दत गर्ने आशा व्यक्त गरेका छन् । ‘दुई हप्ताको अवधिमा सम्झौतालाई अन्तिम रूप दिइनेछ र यसबीच इरानमाथिको बमबारी स्थगित गरिनेछ,’उनले लेखेका छन् ।
ट्रम्पका अनुसार यो युद्धविराम दुईपक्षीय हुनेछ, जसमा अमेरिका र इरान दुवैले आक्रमण रोक्नेछन् । यससँगै इजरायलले पनि अस्थायी रूपमा आफ्नो सैन्य कारबाही रोक्न सहमति जनाएको ह्वाइट हाउसले जनाएको छ ।
यसका साथै राष्ट्रपति ट्रम्प इरानका पुल, पावर प्लान्ट र नागरिक लक्ष्यहरूमा आक्रमण गर्ने आफ्नो कडा धम्कीबाट पछि हटेका छन् ।
यो सहमति पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफको पहलपछि भएको हो । पाकिस्तानी प्रधानमन्त्री सरिफले अमेरिका र इरानबीच कूटनीतिक वार्ताका लागि दुई हप्ताको समय दिन युद्धविराम प्रस्ताव गरेका थिए ।
प्रधानमन्त्री शहबाज शरीफले सामाजिक सञ्जालमा युद्धविरामको स्वागत गर्दै दुवै देशको नेतृत्वप्रति कृतज्ञता व्यक्त गरेका छन् । उनले विवाद समाधानका लागि निर्णायक सम्झौता गर्न वार्ता तय गरिएको बताए। दुवै पक्षले उल्लेखनीय बुद्धिमत्ता प्रदर्शन गरेको भन्दै उनले ‘इस्लामाबाद वार्ता’ सफल हुने आशा राखेका छन ।
यसबीच, इरानले भने आफूले अमेरिका माथि ठूलो विजय हासिल गरेको दाबी गर्दै १० बुँदे प्रस्ताव स्वीकार गरेको जनाएको छ ।
ट्रम्पले पनि यो प्रस्ताव वार्ताका लागि उपयुक्त आधार भएको बताएका छन् ।
युद्धविराम घोषणासँगै अमेरिकी शेयर बजार उकालो लागेको छ भने कच्चा तेलको मूल्य घटेको छ । विश्लेषकहरूका अनुसार यो कदमले मध्यपूर्वमा दीर्घकालीन शान्ति स्थापनाको सम्भावना बढाएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नागरिक पूर्वाधार ध्वस्त पार्ने चेतावनीसहित दिएको कडा समयसीमा सकिदै गर्दा यो सहमति बनेको हो । यसअघि ट्रम्पले इरानलाई चेतावनी दिँदै हर्मुज जलमार्ग नखोलेमा कडा आक्रमण गर्ने अल्टिमेटम दिएका थिए ।
ट्रम्पले इरानले सम्झौता नगरे ‘आज राति सम्पूर्ण सभ्यता मर्नेछ’ भन्दै चेतावनी दिएका थिए । युद्धविरामको यो दुई हप्ताको अवधिमा वार्ता सफल भएमा यसले स्थायी शान्तिको बाटो खोल्ने विश्वास गरिएको छ ।
युद्धका क्रममा हालसम्म इरानमा दुई हजारभन्दा बढीको मृत्यु भइसकेको छ । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले एक करोड ४० लाख इरानीहरू जीवन बलिदान दिन तयार रहेको बताएका थिए ।




प्रतिक्रिया