अमेरिका-इरान शान्ति वार्ता संकटमा, युद्धविराम लगत्तै इजरायलले लेबनानमा बमबारी गर्दा २५४ जनाको मृत्यु

अमेरिका-इरान शान्ति वार्ता संकटमा, युद्धविराम लगत्तै इजरायलले लेबनानमा बमबारी गर्दा २५४ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु इरान र इजरायलबिच भएको दुई हप्ताको युद्धविराम २४ घण्टा नबित्दै संकटमा परेको छ । युद्धविराम लगत्तै इजरायली सेनाले बुधबार लेबनानभर भीषण बमबारी गरेको छ।

बम आक्रमणमा कम्तीमा २५४ जनाको मृत्यु भएको छ भने एक १६५ जनाभन्दा बढी घाइते भएका छन्। लेबनानको नागरिक रक्षा विभागले बेरुत, बेका उपत्यका, माउन्ट लेबनान र दक्षिणी क्षेत्रका विभिन्न गाउँहरूलाई लक्षित गरी हवाई आक्रमण गरिएको जनाएको छ।

इजरायली सेनाले यसलाई मार्च २ यताकै सबैभन्दा ठूलो र समन्वित सैन्य अपरेशन भन्दै हिजबुल्लाहका एक सयभन्दा बढी कमाण्ड सेन्टर र सैन्य स्थलहरू ध्वस्त पारेको दाबी गरेको छ।

आक्रमणपछि लेबनानका अस्पतालहरूमा रगतको चरम अभाव देखिएको छ र चिकित्सकहरूलाई तुरुन्त सहयोगका लागि आह्वान गरिएको छ।

यसैबिच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले छ हप्ता लामो युद्धले इरानी शासनको जग कमजोर पारेको दाबी गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषित दुई हप्ताको युद्धविरामपछि जेरुसेलममा आयोजित एक कार्यक्रममा उनले इजरायलले इरानमा महत्वपूर्ण लक्ष्यहरू हासिल गरेको बताए।

नेतान्याहूले इजरायल जुनसुकै बेला लडाइँमा फर्कन तयार रहेको उल्लेख गर्दै पाकिस्तानको मध्यस्थतामा भएको युद्धविरामले आफू अलमल्लमा परेको भन्ने धारणालाई खारेज गरे।\

युद्धविरामको दायरालाई लिएर प्रमुख देशहरूबिच गम्भीर विरोधाभास देखिएको छ। प्रधानमन्त्री नेतान्याहू र राष्ट्रपति ट्रम्पले लेबनान यस सम्झौताको हिस्सा नभएको दाबी गरेका छन्। तर मध्यस्थकर्ताको भूमिकामा रहेका पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले लेबनान पनि सम्झौतामा समावेश रहेको बताउँदै सबै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन्।

लेबनानी संसदका सभामुख नाबिह बेरीले यस आक्रमणलाई पूर्ण युद्ध अपराधको संज्ञा दिँदै यसले अन्तर्राष्ट्रिय समुदायको परीक्षा लिइरहेको बताएका छन्। इरानले पनि इजरायलले आक्रमण नरोके कडा जवाफ दिने चेतावनी दिएको छ।

खाडी राष्ट्रहरू यस घटनाले युद्धविराम पूर्ण रूपमा ध्वस्त हुन सक्ने भन्दै अत्यन्तै चिन्तित छन्। युद्ध सुरु भएदेखि नै इरानी क्षेप्यास्त्र र ड्रोनको निसानामा परेका साउदी अरेबियाको रास तनुरा र यान्बु, संयुक्त अरब इमिरेट्सको हब्शान र कतारको रास लाफान जस्ता प्रमुख ऊर्जा सुविधाहरूमा थप क्षति पुग्ने डरले ती देशहरूले द्वन्द्व अन्त्यको माग गरेका छन्।