काठमाण्डु – १० दिन लामो ऐतिहासिक यात्रापछि ४ जना अन्तरिक्ष यात्री सहितको आर्टिमिस–२ अन्तरिक्षयान पृथ्वीमा अवतरण गरेको छ ।
अन्तरिक्ष यात्रीहरूलाई बोकेको प्यारासुट अमेरिकाको पश्चिमी तट नजिकै प्रशान्त महासागरमा सुरक्षित रूपमा अवतरण गरेको छ । यो मिसनले नयाँ कीर्तिमान पनि कायम गरेको छ । ५४ वर्षपछि चन्द्रमातर्फ लागेको उक्त अन्तरिक्षयान अप्रिल १ मा फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको थियो।
गएको अप्रिल ६ मा अन्तरिक्षयानले पृथ्वीबाट ४ लाख ६ हजार ७७१ किलोमिटर टाढा पुगेर मानव इतिहासकै सबैभन्दा टाढाको अन्तरिक्ष यात्रा गर्ने रेकर्ड तोडेको थियो ।
अप्रिल १ अर्थात गएको चैत १८ गते सफल प्रक्षेपण भएको यो मिशनमा चार जना अन्तरिक्ष यात्री सहभागी छन् ।
यस अभियानले भविष्यमा चन्द्रमामा गरिने आर्टिमिस–३ सहितका मानव अवतरणहरूका लागि प्रयोग गरिने प्रणालीहरूको परीक्षण गर्ने भएकाले यसलाई निकै महत्वका साथ हेरिएको छ। आर्टिमिस–२ मिसन अपडेट ब्रिफिङका क्रममा नासाका सह–प्रशासक अमित क्षेत्रीयले यो मिसन निर्माणमा संलग्न प्रत्येक इन्जिनियर र प्राविधिकलाई आफ्नो भूमिका निर्वाह गर्न आह्वान गरेका छन्।
सन् १९७२ पछिको यो पहिलो मानवसहितको चन्द्र अभियान हो। यसको सफलताले भविष्यमा चन्द्रमामा मानिस बसाल्ने नासाको लक्ष्यलाई बल पुर्याउनेछ। अझै टाढाको अन्तरिक्ष यात्राको बाटो पनि यस मिसनले खोल्ने जनाइएको छ।
अमेरिकी नौसेनाले ऐतिहासिक आर्टिमिस–२ मिसनबाट फर्किएपछि ओरियन अन्तरिक्षयान र यसका चालक दललाई सुरक्षित रूपमा ल्याउनको लागि जलथलचर ढुवानी जहाज युएसएस जोन पी। मर्था–एलपीडी २६ लाई रिकभरी जहाजको रूपमा खटाइएको छ।
आर्टेमिस–२ चन्द्र सतह नजिक पुगेको र अपोलो–१३ ले राखेको कीर्तिमानी दूरी पार गरेको क्षणलाई नासाको एक्समा मात्रै झन्डै १ करोड दर्शकले प्रत्यक्ष हेरेका थिए।




प्रतिक्रिया