हर्मुज जलमार्ग बन्द गर्न ट्रम्पले दिए आदेश, विश्वभर तेलको मूल्यमा भारी वृद्धि

हर्मुज जलमार्ग बन्द गर्न ट्रम्पले दिए आदेश, विश्वभर तेलको मूल्यमा भारी वृद्धि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्ग बन्द गर्ने आदेश दिएका छन् ।

राष्ट्रपति ट्रम्पको आदेशपछि अमेरिकी सेनाले सोमबारदेखि हर्मुज जलमार्गमा नाकाबन्दी गरेको छ । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत हर्मुज जलमार्गमा सबै जहाजहरूको आवागमन रोक्ने जनाएका छन् ।

इरान र अमेरिकाबिच पाकिस्तानको इस्लामाबादमा भएको शान्ति वार्ता असफल भएपछि ट्रम्पको यस्तो आदेश आएको हो ।

वार्ता निष्कर्षहीन टुंगिएलगत्तै ट्रम्पले रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुज जलमार्गमा नौसेनामार्फत नाकाबन्दी गर्ने घोषणा गरेका छन्।

अमेरिकी सेनाले इरानबाहेकका अरु बन्दरगाहतर्फ जाने वा त्यहाँबाट आउने जहाजहरूलाई भने अवरोध नगर्ने जनाएको छ । तर, इरानसँग सम्बन्धित वा शुल्क तिरेर हर्मुज पार गर्ने जहाजहरूलाई रोक्ने र जाँच गर्ने भनिएको छ ।

अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम)का अनुसार सोमबारदेखि इरानी बन्दरगाहहरूमा हुने सबै समुद्री आउजाउमा नाकाबन्दी लागू हुनेछ। सेन्टकमले भनेको छ, ‘अरबी खाडी र ओमानको खाडीका सबै इरानी बन्दरगाह र तटीय क्षेत्रमा प्रवेश गर्ने वा निस्कने सबै देशका जहाजहरू विरुद्ध नाकाबन्दी निष्पक्ष रूपमा लागू गरिनेछ।’

हर्मुज विश्वको सबैभन्दा महत्वपूर्ण ऊर्जा मार्गमध्ये एक हो, जहाँबाट झण्डै २० प्रतिशत तेल र ग्यास आपूर्ति हुन्छ । यस क्षेत्रमा कुनै पनि अवरोधले विश्व बजारमा तेलको मूल्य वृद्धि र आर्थिक अस्थिरता निम्त्याउने सम्भावना बढाएको विश्लेषकहरूले बताएका छन् ।

अमेरिका र इरानबीच आइतबार इस्लामाबादमा भएको उच्चस्तरीय शान्ति वार्ता असफल भएपछि अवस्था थप तनावपूर्ण बनेको हो । राष्ट्रपति ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रम त्याग्न अस्वीकार गरेको आरोप लगाएका छन् ।

तर, इरानी पक्षले भने सम्झौता नजिक पुगेको दाबी गर्दै अमेरिकाले धेरै मागहरू राखेकाले सहमति हुन नसकेको आरोप लगाएको छ । इरानको सेनाले हर्मुज क्षेत्रमा कुनै पनि सैन्य जहाज प्रवेश गरेमा त्यसलाई युद्धविराम उल्लङ्घन मानिने र कडा कारबाही गरिने चेतावनी दिएको छ ।

विज्ञहरूले विश्वव्यापी ऊर्जा संकट गहिरिन सक्ने र यसले अन्तर्राष्ट्रिय व्यापार र आपूर्ति शृङ्खलामा पनि गम्भीर असर पर्न सक्ने बताएका छन् ।

अमेरिकाको यो घोषणासँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा उछाल आएको छ। अमेरिकी कच्चा तेलको मूल्य ८ प्रतिशतले बढेर प्रति ब्यारेल १०४.२४ डलर पुगेको छ भने ब्रेन्ट क्रुडको मूल्य ७ प्रतिशतले बढेर १०२.२९ डलर पुगेको छ।