काठमाण्डु – गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका राजदूत मायदा तोरुबिच बुधबार गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ ।
भेटघाटमा महामहिम राजदूतले गृहमन्त्री गुरुङलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । नेपाल–जापानबिचको दीर्घकालीन मैत्रीपूर्ण तथा ऐतिहासिक सम्बन्ध, जापान सरकारद्वारा नेपालको आर्थिक तथा सामाजिक विकासमा पुर्याइँदै आएको सहयोग र आगामी दिनमा दुईपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा सारगर्भित छलफल भएको थियो ।
भेटका क्रममा गृहमन्त्री गुरुङले निर्माणाधीन नागढुङ्गा सुरुङमार्गसहित विभिन्न पूर्वाधार आयोजनाको प्रगतिप्रति चासो व्यक्त गर्दै यस्ता परियोजनाले नेपालको समग्र विकासमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको उल्लेख गरे ।
उनले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका क्षेत्रमा नेपाल र जापानबिच थप प्राविधिक सहकार्य, क्षमता अभिवृद्धि र अनुभव आदानप्रदान आवश्यक रहेको औँल्याए । साथै विपद् व्यवस्थापन सम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि नेपालमा विश्वविद्यालय स्थापना गर्न जापानको प्राविधिक सहयोग र ज्ञान हस्तान्तरण आवश्यक रहेको धारणा पनि व्यक्त गरे ।
गृहमन्त्री गुरुङले जापानमा शिक्षा, रोजगारी तथा अन्य क्षेत्रमा अवसर प्राप्त गरेका नेपालीप्रति जापानी सरकारको सकारात्मक नीतिको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका छन् ।
जवाफमा राजदूत मायदा तोरुले नेपालीहरू जापानी समाजमा सहज रूपमा समाहित भई आर्थिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको उल्लेख गर्दै नेपाल–जापान आप्रवासन सहकार्यलाई अझ व्यवस्थित र सुदृढ बनाउन जापान सरकार प्रतिबद्ध रहेको बताए ।
भेटवार्तामा पर्यटन क्षेत्रलाई २ देशबिचको सहकार्यको महत्त्वपूर्ण आधारका रूपमा अघि बढाउने विषयमा पनि छलफल भएको थियो । विशेषगरी लुम्बिनी क्षेत्रको दिगो पर्यटन विकास तथा नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदाको अन्तरराष्ट्रिय प्रवर्द्धनका लागि रणनीतिक साझेदारी आवश्यक रहेकोमा जोड दिइएको थियो ।
दुवै पक्षले नेपाल–जापान सम्बन्धलाई अझ सुमधुर, सुदृढ र विस्तार गर्दै लैजान प्रतिबद्धता व्यक्त गर्दै भेटघाट सम्पन्न भएको छ ।




प्रतिक्रिया