काठमाण्डु– सभामुख डोलप्रसाद (डिपी) अर्यालले जेनजी नवयुवाहरुको भावनाअनुसार मुलुक अगाडि बढ्नुपर्ने बताएका छन् ।संसदीय मामिला पत्रकार समाजमा आवद्ध पत्रकारसँग सिंहदरबारस्थित संसद सचिवालयमा शुक्रबार भएको अन्तरक्रियामा अर्यालले हरेक जनतालाई र देशलाई धनी बनाउने गरी काम गर्नुपर्ने बताए ।
चप्पल लगाउनेलाई जुत्ता लगाउन सक्ने तथा साइकल चलाउनेलाई मोटरसाइकल र मोटरसाइकल चलाउनेलाई कार चलाउने बनाउनु आफूहरुको लक्ष्य रहेको उनको भनाइ थियो ।
‘हामीले चप्पल लाउने हरेकलाई जुत्ता लाउने बनाउनुपर्छ । साइकल चढ्ने हरेकलाई मोटरसाइकल र मोटरसाइकल चलाउनेलाई गाडी चढ्ने बनाउनुपर्छ’, अर्यालले भने, ‘देश धनी बनाउनुपर्छ । जनताहरुलाई धनी बनाउनुपर्छ । हरेक जनताको अनुहारमा खुसी ल्याउनुपर्छ । गिटी कुट्नेले पनि मेरो सरकार छ नि साथी अहिले त भन्ने हुनुपर्छ । अस्पताल गएको बिरामीले कसैलाई फोन नगरी बेड पाइयो नि भन्ने अवस्था होस् । यो अस्पतालले कति राम्रो सेवा दियो भन्ने होस् ।’
जनताको समवेदना, चेतनाको लेबल, नेपालको भूगोल तथा पछिल्लो राजनीतिक अवस्था र जेनजी नवयुवाका अपेक्षाअनुसार सरकार अघि बढ्नुपर्ने उनले औंल्याए ।
कसरी निर्वाचनबाट वर्तमान संसद बन्यो, जनताले के अपेक्षा गरे वा जेनजी उमेर समूहका युवायुवतीले कसरी मृत्युबरण गरे भन्ने बुझेर अघि बढ्नुपर्ने बताए । अर्यालले प्रतिनिधिसभाले कानून निर्माणलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता जनाए ।
कानून निर्माण जति छिटो गर्न सक्यो नागरिकले त्यति नै छिटो सुविधा प्राप्त गर्ने भन्दै उनले ‘फास्ट ट्रयाक’ मा विधेयक अगाडि बढाउने तयारी रहेको जानकारी दिए । यद्यपि छिटो गर्ने नाममा स्थापित विधि, प्रक्रिया र कानूनी प्रबन्धहरुको उल्लंघन भने नहुने सभामुखले प्रतिबद्धता जनाए ।
‘५ वर्षको समय छँदैछ भनेर विस्तारै काम गर्ने छुट हामीलाई छैन । जनताले जे छिटो प्राप्त गर्नका लागि कानून बनाउँछौं त्यो प्राप्त हुनुपर्छ । ढिला गरियो भने समाजमा यस्तो इम्प्याक्ट पर्छ कि हामीले अनुमान गर्नै सक्दैनौं’, उनले भने, ‘फास्टमा काम गर्ने भन्नुको अर्थ जे पायो त्यही गर्ने होइन, विधि, प्रक्रिया, कानून अक्षरसः पालना गरेर कहीं पनि कमीकमजोरी नहुने गरी काम गर्ने चाहन्छु ।’
विगतका राम्रा अभ्यासलाई निरन्तरता दिन्छु
अर्यालले अग्रज सभामुखहरुका राम्रा अभ्यासलाई आफूले निरन्तरता दिने प्रतिबद्धता जनाए । राम्रा नजिरलाई पछ्याउने र नराम्रालाई सच्याउने उनले बताए ।
‘विगतका सभामुखज्यूहरुबाट भएका राम्रा कामहरुलाई निरन्तरता दिन्छु । गल्ती त्रुटिहरु सच्याउने कोसिस गर्छु’, अर्यालले भने, ‘समाज निर्माणमा सबै क्षेत्रकोे भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ । भूमिका सबै जिम्मेवारीमा भएका नागरिकको हुन्छ । राम्रा नजिरहरुलाई कपी गर्ने र अझ राम्रो गर्ने प्रयास गर्नेछु र गलत नजिरहरु छन् भने त्यसलाई सच्याउँछु । मेरो अपेक्षा के छ भने व्यक्तिगत रुपमा मैले कुनै कमजोरी गरेछु भने औंल्याइदिनुस् ।’ अर्यालले सभामुख संस्थाको मर्यादा र सम्मान कायम राख्न मूल्य र मान्यतामा कुनै सम्झौता नगर्ने स्पष्ट गरे ।
यस्तै सभामुख अर्यालले डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला ललितपुरको जावलाखेलस्थित प्रतिष्ठित विद्यालय सेन्ट जेभियर्स र सेन्ट मेरिजमा विद्यार्थी भर्नाका लागि उनका भाई शिव भट्टराईको सिफारिस चल्ने गरेको प्रशङ्ग निकाल्दै उनले अब त्यस्तो अवस्थाको अन्त्य गरिनुपर्ने बताए ।
‘मलाई अनुभव छ कुनै बेला बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उहाँको भाई पनि हुनुहुन्छ होइन एक जना सायद ? भाई नै हुनुहुन्छ । उहाँलाई भन्यो भने चाहिं सेन्ट जेभियर्स र सेन्ट मेरिजमा भर्ना गर्न पाइन्छ भन्ने हल्ला फैलिएको थियो समाजमा’, अर्यालले भने, ‘अब त्यो समाजबाट हामी टाढा जानुपर्छ भन्ने लाग्छ ।’




प्रतिक्रिया