काठमाण्डु – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमन सुरु भएसँगै स्थानीय पर्यटन व्यवसायमा उत्साह थपिएको छ ।
मौसम अनुकूल बन्दै जाँदा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्न थालेको हो ।
कञ्चनजङ्घा क्षेत्र चैतको पहिलो हप्तादेखि जेठको तेस्रो हप्तासम्म भ्रमणका लागि उपयुक्त मानिन्छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्, घुन्सा चेकपोस्टका पर्यटन सहायक टाँसीछिरिङ शेर्पाका अनुसार पछिल्लो १ महिनामा मात्रै १६५ विदेशी पर्यटकले भ्रमण गरेका छन् ।
वर्षमा २ प्रमुख पर्यटकीय याम रहने यस क्षेत्रमा पहिलोयाम चैतदेखि जेठसम्म र दोस्रो असोजदेखि मंसिरसम्म हुने गर्दछ । गत वर्ष पहिलोयाममै ७५० विदेशी पर्यटक यहाँ आएका थिए ।
कञ्चनजङ्घा आधार शिविर पुग्न पाँचथरको गणेशचोक हुँदै सिरिजङ्घा गाउँपालिका भएर वा काठमाण्डुबाट हवाईमार्गमार्फत सुकेटार विमानस्थल पुगेर फक्ताङलुङ गाउँपालिकाको बाटो प्रयोग गरिन्छ ।
पर्यटकलाई लक्षित गर्दै पदमार्गमा साना–ठूला गरी ५२ वटा होटल सञ्चालनमा छन् । फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा करिब ७ करोड रुपैयाँभन्दा बढी लगानीमा ‘सिङ्गी नामजोंग होटल’ सञ्चालनमा आएको छ । ३ हजार ५०० देखि ४ हजार ५०० मिटर उचाइसम्म १ करोडभन्दा बढी लगानीमा बनेका ४ होटल सञ्चालनमा छन् भने अन्य होटलहरूमा पनि उल्लेख्य लगानी गरिएको छ ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा पनि पर्यटक लक्षित ठूला होटलहरू सञ्चालनमा आएपछि होटल व्यवसायी थप आशावादी बनेका छन् । स्थानीय समुदायको मुख्य जीविकोपार्जन पर्यटन, होटल व्यवसाय र पशुपालनमा आधारित छ । घुन्सा, फले र याम्फुदिन क्षेत्रका अधिकांश परिवार प्रत्यक्ष रूपमा पर्यटनसँग जोडिएका छन् ।
खेतीपातीको सम्भावना कम भएकाले पछिल्लो समय युवापुस्ता पशुपालनभन्दा पर्यटन व्यवसायतर्फ आकर्षित हुन थालेका छन् । कोही होटल सञ्चालन गरेर स्वरोजगार बनेका छन् भने कोही पर्यटक मार्गदर्शक तथा सहयोगीका रूपमा आयआर्जन गरिरहेका छन् ।
सन् १९५५ मे २५ मा कञ्चनजङ्घाको पहिलो आरोहण भएको इतिहास छ । विगतमा फुङ्लिङबाट पैदल यात्रा गर्दा २४ दिन लाग्ने यात्रा अहिले छोटिएर ११ देखि १६ दिनमै दुवै आधार शिविर पुगेर फर्किन सकिने भएको छ ।
विशेषगरी चैत, वैशाख, जेठ तथा असोज, कात्तिक र मङ्सिरमा यहाँ पर्यटकको चाप बढी हुने गर्दछ भने हिमाल आरोहण मुख्यत: वैशाख र जेठमा हुने गर्दछ । जापान, जर्मनी, अष्ट्रेलिया, अमेरिका, फ्रान्स, बेलायत, नेदरल्यान्ड, क्यानडा, स्विजरल्यान्ड, बेल्जियम, फिलिपिन्स, स्पेन र स्विडेनलगायत देशबाट पर्यटक यहाँ आउने गरेका छन् । भारत र चीनबाट पनि पर्यटक भ्रमण तथा आरोहणका लागि पुग्ने गरेका छन् ।




प्रतिक्रिया