काठमाण्डु– प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले सभामुख डोल प्रसाद (डीपी) अर्याललाई मस्यौदा प्रतिवेदन बुझाएको छ ।
समितिका सभापति गणेश पराजुलीले उक्त मस्यौदा सभामुख अर्याललाई हस्तान्तरण गरेका हुन् ।
मस्यौदा अनुसार प्रतिनिधि सभामा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ।
मस्यौदामा भनिएको छ, ‘प्रधानमन्त्रीको निजीको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभाले प्रत्येक महिनाको पहिलो साताको कुनै एक दिनको बैठकको एक घण्टा निर्धारण गर्नुपर्दछ । तर उक्त दिन कुनै कारणवश बैठक बस्न नसकिएमा त्यसपछि लाग्ने बस्ने बैठकको पहिलो एक घण्टाको समय निर्धारण गर्नुपर्दछ ।’
मस्यौदा बुझ्दै सभामुख अर्यालले यसमा थप छलफल गरिने बताए । उनले सदनमा विस्तृत छलफल हुने र आवश्यक परेमा कमी–कमजोरी सुधार गर्न सकिने उल्लेख गरे ।
संविधान, विगतका नजिर, प्रचलित कानुनी व्यवस्था, साथै विज्ञ र सम्बन्धित निकायसँगको परामर्शका आधारमा नियमावलीलाई परिष्कृत गरिने सभामुख अर्यालले बताएका थिए ।




प्रतिक्रिया