काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले केरा किसानले भोगिरहेको मूल्य असमानताप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार प्रधानमन्त्रीलाई खुलापत्र लेख्दै उनले केराको बजार मूल्य र किसानले पाउने मूल्यबिचको ठुलो अन्तर अन्त्य गर्न तत्काल कदम चाल्न आग्रह गरेका हुन् ।
उनले लेखेका छन्, ‘बजारमा केरा प्रतिदर्जन रु. ३५०–४०० सम्म बिक्री भइरहेको अवस्थामा किसानले भने जम्मा रु. ७०–८५ मात्र पाउनु अत्यन्तै दुःखद र चिन्ताजनक विषय हो। उत्पादन गर्ने किसानले न्यूनतम लाभ पनि नपाउनु र उपभोक्ताले महँगो मूल्य तिर्नु, यो दुबै पक्षका लागि अन्यायपूर्ण अवस्था हो।’
किसानहरू सीधै बजारसम्म पहुँच राख्न नसक्दा बिचौलियामा निर्भर हुन बाध्य भएको पनि उनले उल्लेख गरेका छन् ।
‘यस स्थितिको प्रमुख कारण बिचौलियाको अत्यधिक प्रभाव देखिन्छ। किसानबाट सस्तोमा खरिद गरी विभिन्न तह पार गर्दै उपभोक्तासम्म पुग्दा मूल्य अस्वाभाविक रूपमा बढिरहेको छ। किसानहरू बजारसम्म सिधै पहुँच राख्न नसक्दा उनीहरू बिचौलियामा निर्भर हुन बाध्य छन्।’ उनले लेखेका छन् ।
उनले सरकारसँग केराका बिचौलियामाथि कडा कारबाही गर्न, किसानलाई उचित मूल्य सुनिश्चित गर्न तथा कृषि बजार प्रणालीमा सुधार ल्याउन माग गरेका छन्।
‘किसानको पसिना अनुसारको मूल्य सुनिश्चित गर्नु राज्यको दायित्व हो। यदि किसान सन्तुष्ट भए मात्र देश समृद्धिको बाटोमा अघि बढ्न सक्छ।यस गम्भीर विषयमा सरकारले चाँडो ध्यान दिई प्रभावकारी कदम चाल्ने विश्वास व्यक्त गर्दछु।’ उनले लेखेका छन् ।




प्रतिक्रिया