काठमाण्डु – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्टले अत्यधिक गर्मी तथा तातो हावाको लहरबाट उत्पन्न जोखिम न्यूनीकरणका लागि पूर्वतयारी आवश्यक रहेको बताएका छन् ।
अत्यधिक गर्मी वा तातो हावाको लहरसम्बन्धी पूर्वतयारी, पूर्वकार्य तथा शीघ्र प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३ को मस्यौदामाथि आयोजित छलफल कार्यक्रममा बोल्दै उनले प्राप्त सबै सुझावहरूलाई समेटेर अन्तिम रूप दिइने जानकारी दिए ।
‘जतिपनि यसमा सुझावहरू आएका छन्, सबै उपयोगी छन् । ती सुझावहरूलाई संकलन गरेर अन्तिम ढाँचामा तयार गरी अगाडि बढाउनेछौँ,’ उनले भने ।
उनले अत्यधिक गर्मीका कारण सर्वसाधारणले विभिन्न समस्या भोगिरहेको बताए । उनले तापक्रम बढेसँगै आगलागीका घटनामा समेत वृद्धि भइरहेको बताए ।
‘जति तातो बढ्दै जान्छ, त्यति आगलागीका घटना पनि बढिरहेका छन् । त्यसैले यससँगै आगलागी नियन्त्रणका लागि पनि सचेतना बढाउन आवश्यक देखिन्छ,’ उनले भने ।
भट्टले विपद् व्यवस्थापनमा निजी क्षेत्रको सहभागिता अपरिहार्य रहेको पनि बताए । ‘निजी क्षेत्रलाई यसमा जोड्नुपर्छ । नेपाल उद्योग वाणिज्य महासंघदेखि व्यापारीसम्मलाई समेट्नुपर्छ,’ उनले भने, ‘तर केवल केन्द्र स्तरमा मात्र नभई स्थानीय तहसम्म निजी क्षेत्रको सहभागिता सुनिश्चित गरिए प्रभावकारी सहयोग प्राप्त हुन्छ ।’




प्रतिक्रिया