काठमाण्डु महानगर र चलचित्र विकास बोर्डबिच ४० जनालाई फोटोग्राफी तालिम दिने सम्झौता

काठमाण्डु महानगर र चलचित्र विकास बोर्डबिच ४० जनालाई फोटोग्राफी तालिम दिने सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिकाले युवाहरूलाई सीपमूलक र रोजगारमूलक फोटोग्राफी तालिम दिन चलचित्र विकास बोर्डसँग सम्झौता गरेको छ ।

मंगलबार कार्यबाहक प्रमुख सुनिता डंगोलको रोहवरमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र बोर्डका अध्यक्ष दिनेशराज दाहालबिच महानगरपालिकाको रोजगारी र आयवृद्धि काठमाण्डुको समृद्धि गौरव योजनाअन्तर्गत सम्झौता पत्रमा हस्ताक्षर गरेकी हुन् ।

त्यस क्रममा बोल्दै कार्यबाहक प्रमुख डंगोलले चलचित्र निर्माण गर्न काठमाण्डुलाई खुला स्टुडियोको रूपमा विकास गर्न महानगरपालिका र बोर्डबिच सहकार्य हुन सक्ने बताइन् ।

‘चलचित्र र यससँग सम्बन्धित विभिन्न विधाबाट समाज र सामाजिक पक्षलाई जीवन्त बनाउन सकिन्छ । हामी डबली, चोक र ननीहरूमा चलचित्रहरूको प्रदर्शन गर्ने, चलचित्र निर्माणमा निर्माताहरूलाई प्रोत्साहन गर्न अन्तर्संवाद सञ्चालन गर्ने, समुदाय स्तरमा चलचित्र तथा श्रव्य दृश्य उत्पादनको क्षमता विकास तालिम सञ्चालन गर्ने योजनामा छौँ । यस कार्यलाई सहभागितामूलक र दिगो बनाउन हामी क्षेत्रगत विज्ञ र साझेदारसँग सहकार्यका लागि इच्छुक छौँ,’ डंगोल भनिन् ।

भित्री शहरी क्षेत्रका डबली, चोक र ननीमा कार्यक्रम गरेजस्तै बाहिरी वडाका पार्कहरूमा चलचित्र प्रदर्शनको कार्यक्रम सञ्चालन गरिने योजना रहेको डंगोलको भनाइ छ ।

त्यस क्रममा बोर्डका अध्यक्ष दाहालले चलचित्रमार्फत शहरलाई जीवन्त बनाउने अभियानमा बोर्ड सदैव साथमा रहेको उल्लेख गरेका छन् ।

‘फोटोग्राफीबाट सहकार्य थालेका छौँ । यसलाई बढाएर रचनात्मक उद्योगको विकास र प्रवर्धनमा सहकार्य गर्न हामी तयार छौँ,’ दाहालले भने ।

सम्झौता बमोजिम बोर्डले फोटोग्राफीको कोर्समा आधारित ४० जनालाई फोटोग्राफी सम्बन्धी तालिम प्रदान गर्नेछ । यसको लागतमा महानगरपालिकाको ८० प्रतिशत र बोर्डको २० प्रतिशत लागत सहभागिता हुनेछ ।