झापामा विद्यालय बस दुर्घटना : १३ विद्यार्थी घाइते, चालक फरार

झापामा विद्यालय बस दुर्घटना : १३ विद्यार्थी घाइते, चालक फरार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- झापा कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको विद्यालय बस दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्।

विद्यापानी माध्यमिक विद्यालयको प्र१–०१–००१ ख ४४८२ नम्बरको बस दुर्गाभिट्टाबाट आमबारीतर्फ जाँदै गर्दा भित्री सडकखण्डमा मोटरसाइकलसँग ठोक्किएपछि अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। बसले प्र१–०१–०१३ प ३४८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनाका बेला बसमा सवार १८ जना विद्यार्थीमध्ये १३ जना घाइते भएका छन्। घाइतेमध्ये ११ जनालाई बिर्तामोडस्थित मनमोहन सामुदायिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ भने अन्यको अवस्था सामान्य रहेको बताइएको छ।

मोटरसाइकल चालक कचनकबल–३ का ५२ वर्षीय ओमप्रसाद तिम्सिनाको मुख, टाउको र खुट्टामा चोट लागेको छ।

दुर्घटनापछि बस चालक फरार रहेको र उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।