काठमाण्डु – धितोपत्र कारोबारसम्बन्धी कसूरमा दीपक भट्टको सहयोगी भूमिकामा देखिएको आरोपमा पक्राउ परेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं उद्योगी शेखर गोल्छाका कारण प्रहरीलाई हैरान भएको छ ।
धितोपत्र बोर्डको जाँझबुझ प्रतिवेदनले दोषी औंल्याएका गोल्छालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले १० वैशाखमा पक्राउ गरेको थियो । भट्टसँग मिलेर धितोपत्रसम्बन्धी ऐन–२०६३ का विभिन्न दफा अनुसारको कसूर गरेको आरोप उनीमाथि छ ।
गोल्छाभन्दा पहिल्यै सम्पत्ति शुद्धीकरण विभागले पक्राउ परेका भट्टमाथि अनुसन्धान जारी छ । गोल्छाबाट प्रहरी हैरान हुनुको कारण भने अर्कै छ । गोल्छा मुखमा मास्कजस्तो मेशिन (सी–प्याप) लगाएर मात्र सुत्न सक्ने रहेछन् । जसलाई चिकित्सकीय भाषामा ‘स्लिप अपेनिया’ भनिन्छ । त्यस्ता समस्या भएका मानिसमा मशिन बिना सुत्दा सास रोकिने समस्या हुन्छ ।
प्रहरीले हिरासतमा त्यस्तो मशिन लैजाने इजाजत नभएको बताएपछि ३ रात उनी जागै बसे । वैशाख १०, ११ र १२ को रातभर गोल्छाले आँखा झिमिक्कै गरेनन् । गोल्छा नसुतेपछि एक जना प्रहरी निरीक्षक पनि उनको निगरानीका लागि रातभरै जाग्राम बसेको सीआईबी स्रोतले बतायो । नसुतेका कारण एकातिर गोल्छाको स्वास्थ्य बिग्रिने, अर्कोतिर आफ्ना अधिकृतले समेत सुत्न नपाएपछि सीआईबीले गोल्छाकै चाहनाअनुसार वैशाख १४ गतेबाट राति सुताउन धुम्बाराहीस्थित ह्याम्स अस्पताल लैजाने गरेको छ ।
एक अधिकृतका अनुसार गोल्छालाई राति अस्पतालमा सुताउने र दिउँसो बयानका लागि लाजिम्पाटस्थित सीआईबीको कार्यालयमा ल्याउने गरिएको छ । अनुसन्धानका क्रममा नयाँ–नयाँ तथ्य पत्ता लागेपछि बयान लम्बिएको भनाइ स्रोतको छ । ‘अरु नयाँ तथ्यहरू पनि खुल्दै गएकाले बयान लम्बिएको हो,’ ती अधिकृतले भने, ‘रातिमा सुत्न अस्पताल लैजाने, दिउँसोमा बयानका लागि अफिसमा ल्याउने गरिरहेका छौं ।’
गोल्छाको बयान अझै केही दिन लम्बिन सक्ने सीआईबीले जनाएको छ ।




प्रतिक्रिया