काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मंसिरमा आफ्नो एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने घोषणा गरेको छ ।
पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले मंसिर ११–१५ गतेसम्म काठमाण्डुमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार महाधिवेशनको तयारीका लागि तल्लो तहदेखि नै अधिवेशनको कार्यतालिका समेत सार्वजनिक गरिएको छ । आगामी जेठ मसान्तभित्र केन्द्रदेखि स्थानीय तह र जनवर्गीय संगठनहरूको एकीकरण तथा समायोजन सम्पन्न गरिने लक्ष्य लिइएको छ ।
साउन मसान्तभित्र पार्टी सदस्यता नवीकरण र विस्तार गरिसक्ने योजना छ । अधिवेशनको कार्यतालिका अनुसार भदौ १५ गतेसम्म वडा, भदौ मसान्तसम्म पालिका, असोज मसान्तसम्म जिल्ला र कात्तिक १५ गतेसम्म प्रदेश अधिवेशनहरू सम्पन्न गरिनेछन् ।
नेकपाले सबै तहका कमिटीहरू समानुपातिक र समावेशी मान्यताका आधारमा निर्वाचित हुने स्पष्ट पारेको छ । विशेषगरी युवा र नवयुवाको प्रतिनिधित्वलाई ५० प्रतिशतसम्म पुर्याउने पार्टीको नीति रहेको प्रवक्ता ज्वालाले जानकारी दिए ।
यसैबिच पार्टीले देशको वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै संविधान संशोधनका लागि सुझाव दिन उच्चस्तरीय कार्यदल समेत गठन गरेको छ । देवप्रसाद गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रेखा शर्मासहित वरिष्ठ अधिवक्ताहरू र विज्ञहरू सम्मिलित कार्यदलले संविधान संशोधनका विषयमा आवश्यक गृहकार्य गर्नेछ ।
गत चैत १९ देखि वैशाख १४ गतेसम्म चलेको कार्यसंयोजन समितिको लामो बैठकले पार्टीको अन्तरिम विधान २०८२ बमोजिम केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने निर्णय समेत गरेको छ । महाधिवेशनले पार्टी एकीकरणपछिको सांगठनिक स्वरूपलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।






प्रतिक्रिया