काठमाण्डु- ‘ग्राण्ड रिहर्सल’ नाटकभित्रको यस्तो नाटक, जहाँ सबैथोक बिग्रिएर पनि हिट हुन्छ ।मण्डला नाटकघरमा छिर्दा लाग्छ, के यहाँ साँच्चिकै नाटक भइरहेको हो कि कुनै भद्रगोल रिहर्सल । नाटक हो भनौँ, मञ्चमा सबै कुरा भत्किरहेका छन्। होइन भनौँ, कलाकारहरू ज्यान फालेर अभिनय गरिरहेका छन्। रंगकर्मी उमेश तामाङ निर्देशित नाटक ‘ग्राण्ड रिहर्सल को मुख्य आकर्षण नै यही अन्योल र त्यसले सिर्जना गर्ने हाँसो हो।
हेनरी लेविस र टोलीको बेलायती कथालाई अनुप न्यौपाने र उमेश तामाङले नेपालीकरण गरेका हुन्। नाटकमा एक युवा निर्देशक राजा बाबु कार्की को डेब्यू नाटक ‘बिहेको टुटुल्को’ मञ्चन भइरहेको हुन्छ। तर, सो सुरु हुनासाथ योजनाअनुसार केही हुँदैन।
नाटकका केही रोचक पक्षहरू
जुगाडको कलाकारिता मञ्चमा प्रप्सको अभाव हुँदा मट्टितेललाई ह्विस्की र कुच्चोलाई कलम मानेर अभिनय गरिन्छ। अभाव र संघर्षका बीच पनि कलाकारको समर्पण कस्तो हुन्छ भन्ने यसले छर्लङ्ग पार्छ। यो नाटकले मञ्च र दर्शकबीचको चौथो पर्खाल भत्काउँछ। कलाकारहरू दर्शकबाटै मञ्च प्रवेश गर्छन् र दर्शकलाई कथाको हिस्सा बनाउँछन्।
साउन्ड डिजाइनरले रमाइलो धुन बजाउनुपर्ने ठाउँमा गम्भीर धुन बजाइदिन्छन्, लाइट म्यानले चाहिएको बेला बत्ती बाल्दैनन्। पर्दा पछाडिका यस्ता प्राविधिक गल्तीहरूले दर्शकलाई पेट मिचीमिची हँसाउँछन्। यतिमात्रै कहाँ हो र नाटकमा कलाकारहरूको वास्तविक नामलाई नै रोचक ढंगले चरित्रमा प्रयोग गरिएको छ। जस्तै अनुप न्यौपानेको भूमिका मिलन कार्कीले र मिलन कार्कीको भूमिका अनुपले निभाएका छन्।
भत्किँदो नाटकको सेट आफैँमा एउटा पात्र जस्तो लाग्छ। अभिनय गर्दागर्दै ढोका फनफनी घुम्ने, पर्दा खस्ने र घरको छानो नै भत्किने दृश्यहरूले रोमाञ्चकता थप्छन्। सो मस्ट गो अन’ अर्थात् जेसुकै भए पनि नाटक रोकिनुहुँदैन भन्ने मूल मन्त्र बोकेको यो नाटकले रङ्गमञ्चप्रतिको भोक, सोख र जटिलतालाई प्रस्तुत गरेको छ। अभाव र भद्रगोलका बीच पनि कलाप्रतिको लगावले कसरी एउटा ग्राण्डनतिजा दिन्छ भन्ने बुझ्न यो नाटक हेर्नैपर्ने हुन्छ।




प्रतिक्रिया