काठमाण्डु– सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेलले पदवहाली गरेका छन्।
पदवहालीसँगै उनले निर्देशन सम्बोधनको क्रममा अग्रजहरूले देखाएको त्याग, समर्पण, व्यावसायिकता र बलिदानीप्रति उच्च सम्मान गर्दै संगठनको श्रीवृद्धिका खातिर अमर सहिदहरूले देखाएको बाटोमा समर्पित भई कर्तव्य पालना गर्न दृढ संकल्पका साथ लाग्न जोड दिएका छन्।
संगठनले हासिल गरेका उपलब्धिहरू आधार भएको बताउँदै उनले भने, ‘त्यो हाम्रो अन्तिम गन्तव्य होइन, सुधार एकपटक गरिने कार्य होइन, यो निरन्तर चलिरहने प्रक्रिया हो, जसलाई संस्थागत संस्कारकै रूपमा विकास गरिनुपर्छ ।’
विगतका अनुभवबाट सिक्दै, वर्तमानलाई सुदृढ गर्दै र भविष्यलाई स्पष्ट दृष्टिकोणसहित दिशानिर्देश गरी सामूहिक जिम्मेवारीको कर्तव्यबोधका साथ संगठनलाई रूपान्तरण, विश्वासिलो, आधुनिक, उत्तरदायी, प्रविधिमैत्री र परिणाममुखी सुरक्षा संस्थाका रूपमा स्थापित गरिने उनको भनाइ छ।
महानिरीक्षक पौडेलले अनुशासन, चेन अफ कमान्ड र संस्थागत निष्ठा नै संगठनको आधारशिला रहेको उल्लेख गर्दै गैरव्यावसायिक आचरण, भ्रष्टाचारजन्य क्रियाकलाप तथा बाह्य प्रभावप्रति शून्य सहनशीलताको नीति न्यूनतम सर्तको रूपमा अवलम्बन गर्दै कडाइका साथ कार्यान्वयन गरिने बताएका छन्।
सांगठनिक हित र व्यावसायिकतामा कुनै सम्झौता नगरी पुरस्कार र दण्डको सिद्धान्तलाई निष्पक्ष, पारदर्शी र प्रभावकारी रूपमा लागू गरिँदै लगिने उल्लेख गर्दै सशस्त्र प्रहरी बल नेपालको ऐन तथा नियमावली समयसापेक्ष परिमार्जनको कामहरू अगाडि बढाइने तथा संगठनको आधुनिकीकरण एवं आवश्यक स्रोतसाधनको उपलब्धताका लागि आवश्यक पहल गरिनेसमेत बताए।
महानिरीक्षक पौडेलले संगठनलाई आधुनिक, सक्षम र भविष्यमा आइपर्ने चुनौतीहरूको सामना गर्न तयार बनाउने दिशामा केन्द्रित भई तालिम प्रणालीलाई समयसापेक्ष, व्यावहारिक र प्रविधिमैत्री बनाई ज्ञान मात्र होइन, सिप र नेतृत्व क्षमता विकासमा समेत जोड दिइने बताएका छन्।
कार्यगत क्षेत्रमा आधुनिक प्रविधिहरूको प्रयोगलाई संस्थागत रूपमा विस्तार गर्दै दंगा व्यवस्थापन, आन्तरिक सुरक्षा तथा विपत् व्यवस्थापनका क्षेत्रमा आधुनिक उपकरण क्षमताको विकास तथा द्रुत प्रतिक्रिया संयन्त्रलाई सुदृढ, संगठनको दीर्घकालीन सुदृढीकरणमा महत्त्वपूर्ण योगदान, सीमा सुरक्षाजस्ता प्रमुख जिम्मेवारीलाई बिओपीहरूको विस्तारसहित रणनीतिक परिचालन उनका योजना छन्।
अत्याधुनिक स्रोतसाधनको व्यवस्थापन, प्रविधिमैत्री सीमा निगरानी एवं क्रियाशील सबै पक्षहरूसँग प्रभावकारी समन्वय, डिजिटल बोर्डरको अवधारणाको सुरुवात तथा बोर्डर इन्टेलिजेन्स प्रणालीलाई सुदृढ बनाई सीमावर्ती नाकाहरुमा सर्वसाधारणहरूको आवतजावतलाई सहजीकरण गर्ने र आपराधिक क्रियाकलापहरूको निगरानी गर्ने उद्देश्यले बोर्डर इन्टेलिजेन्स टिमहरूको व्यवस्था गरी प्रभावकारी परिचालनमा विशेष जोड दिइने बताए।
महानिरीक्षक पौडेलले संगठनभित्र पारदर्शिता, कार्यसम्पादनमा आधारित मूल्यांकन प्रणाली, आर्थिक अनुशासन तथा स्रोतसाधनको सदुपयोगलाई परिणाममुखी, अधिकारको दुरुपयोग र अनुशासनहीनताविरुद्ध कडा कदम चालिने बताउँदै सरुवा, बढुवा, तालिम तथा अवसरहरूलाई पारदर्शी, न्यायसंगत र पूर्वानुमानयोग्य बनाई संगठनभित्र विश्वास, मनोबल र व्यावसायिकता अभिवृद्धि गर्ने नीति अवलम्बन गरिने बताए।
निर्भीकता, इमानदारिता र उच्च समर्पणका साथ आफ्नो कर्तव्य निर्वाह गर्दै सशस्त्र प्रहरी बल नेपाल केवल एक सुरक्षा निकाय मात्र नभई यो कर्तव्य, इमानदारी र सेवाभावले जोडिएको एउटा फौजी परिवार भएको बताउँदै चुनौतीहरूको सामना गर्न एक ढिक्का भएर अगाडि बढेमा देश र जनताको भरोसायोग्य, सक्षम र उत्कृष्ट सुरक्षा संगठनका रूपमा स्थापित गर्न सफल हुने विश्वास व्यक्त गरे।
उनले बाढी, पहिरो, भूकम्प, हिमपहिरो तथा दुर्गम क्षेत्रमा हुने उद्धार कार्यलाई अझ प्रभावकारी बनाउन अत्याधुनिक उपकरण, विशेष तालिम, उच्च पर्वतीय उद्धार क्षमता र समुदायमा आधारित स्वयंसेवक तालिम तथा पूर्वतयारी प्रणालीलाई विस्तार गरी अझ प्रभावकारी विपत् प्रतिकार्यको पर्यायका रूपमा सशस्त्र प्रहरी बल नेपाललाई स्थापित गरिने बताउँदै मनसुनको समयमा हुने विपतजन्य घटना दुर्घटनामा उद्धारको लागि पूर्वतयारी गरी तत्काल परिचालन हुन सक्ने अवस्थामा रहन निर्देशन दिएका छन्।
१९ वैशाखदेखि लागू हुने गरी महानिरीक्षकमा नियुक्त भएका पौडेलले सोमबार गृहसचिवबाट दर्ज्यानी चिह्न लगाएपछि सशस्त्र प्रहरी प्रधान कार्यालयमा पदवहाली गरेका हुन्।




प्रतिक्रिया