काठमाण्डु-खुम्बु आइसफल क्षेत्रमा आइस सेराकु हिउँको ठूलो ढिस्को खस्दा आरोही र गाइड घाइते भएका छन्। विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरबाट क्याम्प २ तर्फ जाने क्रममा मंगलबार बिहान भएको उक्त दुर्घटनामा परी एक नेपाली गाइड र एक भारतीय आरोही घाइते भएका हुन्।
पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार,२०८३ वैशाख २२ गते बिहान ५: ४५ बजेतिर ठूलो सेराकभन्दा करिब २० मिटर तल हिउँको ढिस्को खसेर बाटो अवरुद्ध भएको थियो। सोही क्रममा बाटोमा रहेका संखुवासभा मकालुका ४४ वर्षीय माउन्टेन गाइड पेम्बा तेन्डुक शेर्पा र भारत पुनेका ४० वर्षीय आरोही निमिष कुमार सिंह घाइते भएका हुन्।
घटनास्थलमा रहेका पायोनियर एड्भेन्चर र समिट फोर्स एक्सपिडिसनका शेर्पा टोलीले तत्काल उद्धार कार्य सुरू गरेका थिए। घाइतेहरूलाई आधार शिविर ल्याइएलगत्तै सेभेन समिट ट्रेक्सको समन्वयमा बिहान ६: ३० बजे लुक्लाबाट आएको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो।
घाइते दुवैजनालाई थप उपचारका लागि काठमाडौंस्थित हाम्स अस्पताल भर्ना गरिएको छ। उनीहरूको अवस्था खतरामुक्त रहेको पर्यटन विभागले जानकारी दिएको छ। हिउँको ढिस्को खसेपछि केही समय अवरुद्ध भएको खुम्बु आइसफलको बाटो अहिले पूर्णरूपमा सुचारु भइसकेको छ। विभागका सूचना अधिकारी हिमाल गौतमले बताए ।




प्रतिक्रिया