काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुकुमबासी नागरिकलाई नाङ्गै सडकमा दौडाउने डोजर आतंक स्वीकार्य नहुने बताएका छन् ।
सिंहदरबारमा पार्टीका सांसदहरूको प्रशिक्षण कार्यक्रमबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले काठमाण्डुका नदी किनारका सुकुमबासी बस्तीमा चलाइएको डोजरलाई राज्यको बर्बरताको संज्ञा दिए ।
कांग्रेसले नक्कली सुकुमबासीको बचाउ नगर्ने बताउँदै थापाले सुकुमबासीमाथि राज्य क्रूर र कठोर हुन नहुने बताए । ‘बुद्ध पूर्णिमाको दिन गुम्बा भत्काउने, विद्यालय भत्काउने र नागरिकलाई नाङ्गै सडकमा दौडाउने काम डेमोक्रेसीमा कल्पना पनि गर्न सकिँदैन, डोजर आतंक स्वीकार्य छैन,’ उनले भने ।
वर्तमान सरकार दुईतिहाइको दम्भ र भ्रममा रहेको उनको आरोप छ । विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारले जस्तै वर्तमान सरकारले पनि जे गरे पनि हुन्छ भन्ने ठूलो भ्रम पालेको उनले बताए ।
उनले भने, ‘बहुमत हुँदैमा जस्तो पनि कानुन बनाउने र त्यसको दुरुपयोग गर्ने छुट सरकारलाई छैन । विगतमा ओलीजीलाई पनि यो भ्रमले डुबाउँछ भनेर मैले सम्झाएको थिएँ, अहिलेको सरकारलाई पनि त्यहीँ भन्न चाहन्छु, विधिको शासनभन्दा माथि कोही छैन ।’
उनले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर प्रधानन्यायाधीश नियुक्तिमा सरकारले जालझेल गर्न खोजेको बताए । ‘संवैधानिक निकायमा सरकारको नियन्त्रण र प्रधानमन्त्रीको दादागिरी नचलोस् भनेर संवैधानिक परिषद्को व्यवस्था गरिएको हो । तर अहिले आफ्ना मान्छे भर्ती गर्न अध्यादेशमार्फत कानुनसँग छेडखानी गरिँदैछ । खल्तीबाट झिकेको नामलाई प्रधानन्यायाधीश बनाउने प्रपञ्च हामीलाई स्वीकार्य छैन,’ उनले भने ।




प्रतिक्रिया