काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी वैशाख २६ गतेदेखि सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित प्रशिक्षण अभियान सञ्चालन गर्ने भएको छ ।
मंगलबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सभापति गगनकुमार थापाको उपस्थिति तथा उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको प्रतिष्ठानको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा सभापति थापाले प्रतिष्ठानको वैधानिकता र अधिकारबारे प्रष्ट पार्दै नवनियुक्त सदस्यहरूलाई बधाई दिएका थिए भने प्रतिष्ठानका प्रमुख शर्माले सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
बैठकले प्रतिष्ठानको रिक्त उपप्रमुख पदमा नेता मधु आचार्यलाई चयन गर्ने निर्णय समेत गरेको छ । प्रतिष्ठानका प्रमुख शर्माको प्रस्तावमा आचार्यलाई उपप्रमुखको जिम्मेवारी दिने निर्णय बैठकले सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । यससँगै प्रतिष्ठानले आफ्नो साङ्गठनिक स्वरूपलाई पूर्णता दिँदै प्रशिक्षणको कार्यतालिकालाई समेत अन्तिम रूप दिएको छ ।
सार्वजनिक कार्यतालिका अनुसार प्रशिक्षण अभियानको सुरुवात सुदूरपश्चिम प्रदेशको धनगढीबाट वैशाख २६ र २७ गते हुनेछ । त्यसलगत्तै कर्णाली प्रदेशको लेकबेसीमा २८ र २९ गते, गण्डकी प्रदेशको पोखरामा ३१ र जेठ १ गते तथा बागमती प्रदेशको धुलिखेलमा जेठ ४ र ५ गते प्रशिक्षण कार्यक्रम आयोजना गरिनेछ । मधेश प्रदेशको बर्दिवासमा जेठ ६ र ७ गते, कोशी प्रदेशको लौकीमा ८ र ९ गते तथा लुम्बिनी प्रदेशको तिलोत्तमामा जेठ १४ र १५ गते भेला आयोजना गरी अभियानको समापन गरिने प्रतिष्ठानले जनाएको छ ।
प्रशिक्षण अभियानले स्थानीय र प्रदेश तहमा पार्टीका जनप्रतिनिधिहरूको भूमिकालाई थप प्रभावकारी बनाउनुका साथै कांग्रेसको नीतिगत स्पष्टतालाई तल्लो तहसम्म पुर्याउने लक्ष्य लिएको छ । पार्टीको केन्द्रीय नीति र अनुसन्धानका क्षेत्रमा प्रतिष्ठानले खेल्ने भूमिकाले आगामी निर्वाचन र पार्टीको साङ्गठनिक सुदृढीकरणमा महत्त्वपूर्ण टेवा पुग्ने जनाइएको छ ।





प्रतिक्रिया