काठमाण्डु – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन् ।
मन्त्रालयमा बुधबार भएको भेटमा नेपाल र चीनबिचको ऐतिहासिक, मैत्रीपूर्ण तथा सौहार्दपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
त्यस अवसरमा मन्त्री वादीले नेपाल ‘एक चीन नीति’प्रति दृढ प्रतिबद्ध रहेको उल्लेख गर्दै चीनसँगको सहकार्यलाई सामाजिक विकास, महिला सशक्तीकरण, बाल अधिकार संरक्षण, ज्येष्ठ नागरिक सेवा र अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धनका क्षेत्रमा विस्तार गर्न सकिने बताइन् । उनले नेपाल र चीनबिचको ऐतिहासिक सम्बन्धलाई थप परिणाममुखी बनाउन मन्त्रालयले भूमिका खेल्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।
भेटमा स्थानीय नेपाली महिलाद्वारा उत्पादित सामग्रीको प्रवर्द्धन तथा बजार पहुँच, नमूना ज्येष्ठ नागरिक हेरचाह केन्द्र स्थापना, अपाङ्गता भएका व्यक्तिहरूका लागि विशेष सेवा तथा सहायक सामग्री उपलब्धता गराउनेबारे छलफल भएको थियो ।
राजदूत माओमिङले नेपाल र चीनबिच रही आएको ऐतिहासिक, मैत्रीपूर्ण तथा पारस्परिक विश्वासमा आधारित सम्बन्धलाई उच्च महत्त्व दिँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको संरक्षण, सशक्तीकरण र समावेशी विकासका क्षेत्रमा नेपाल सरकारसँगको सहकार्यलाई थप सुदृढ गर्दै लैजाने विश्वास दिलाएका थिए ।




प्रतिक्रिया