काठमाण्डु – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारीका ठूला ऋणीहरूलाई ऋण चुक्ता गर्न अन्तिम चेतावनी दिएको छ ।
समितिको बुधबार बसेको बैठकले समस्याग्रस्त घोषित २० मध्ये १० वटा सहकारीका ठूला ऋणीहरूको नामावली सार्वजनिक गर्ने निर्णय गर्दै तत्काल दायित्व पूरा गर्न निर्देशन दिएको हो ।
समितिले जारी गरेको सूचना अनुसार ठूला ऋणीहरूलाई यथाशीघ्र कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनिएको छ । तोकिएको समयभित्र ऋण चुक्ता नगरेमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरी असुली प्रक्रिया अगाडि बढाइने समितिले स्पष्ट पारेको छ । बचतकर्ताहरूको अर्बौँ रकम डुबेपछि सरकारले ती सहकारीहरूलाई समस्याग्रस्त घोषणा गरी सम्पत्ति र दायित्व व्यवस्थापनको जिम्मा समितिलाई दिएको थियो ।
कार्यालयले हाल १० वटा सहकारीका ठूला ऋणीहरूको विवरण बाहिर ल्याए पनि अन्य ऋणीहरूको नामावली समेत क्रमिक रूपमा सार्वजनिक गर्दै जाने तयारी गरेको छ । तसर्थ नामावली प्रकाशन हुन बाँकी रहेका अन्य ऋणीहरूलाई समेत समयमै कार्यालयमा उपस्थित भई आफ्नो ऋण राफसाफ गर्न सूचित गरिएको छ ।
सहकारी क्षेत्रमा देखिएको संकट समाधान गर्न र बचतकर्ताको रकम फिर्ता गराउन सरकारले ऋणीहरूबाट असुली प्रक्रियालाई तीव्र बनाएको हो । यसअघि पनि समितिले पटक–पटक ताकेता गर्दा समेत कतिपय पहुँचवाला ऋणीहरूले रकम तिर्न आलटाल गर्दै आएका थिए । अब सार्वजनिक सूचनामार्फत नामावली नै सार्वजनिक गरेर समितिले कानुनी कारबाहीको कठोर बाटो रोज्ने संकेत दिएको छ ।
हेर्नुहोस् ठूला ऋणीहरूको नामावली –




प्रतिक्रिया