काठमाण्डु – वीरगञ्जको मुख्य सडक विस्तारको काम रोक्न माग गर्दै घर जग्गाधनी र व्यापारीहरू सडकमा उत्रेका छन् ।
वीरगञ्ज बचाउ संघर्ष समिति र वीरगञ्ज युवा तथा व्यापारी सडक पीडित संघर्ष समितिको नाममा घर जग्गाधनी र व्यापारीहरुले वीरगञ्जको आदर्शनगर चोकदेखि घण्टाघर चोकसम्मको मेनरोडमा मानव साङ्लो बनाएर प्रदर्शन गरेका हुन् ।
सडक विभागले वीरगञ्ज महानगरपालिकाको सहयोगमा वैशाख ६ र ७ गते त्रिभुवन राजपथ अन्तर्गत गण्डकदेखि मितेरी पुलसम्मको मुख्यरोडको दायाँ–बायाँ २५–२५ मिटर सडक क्षेत्रभित्रका संरचनाहरू डोजर लगाएर भत्काएको थियो ।
करिब ८ किलोमिटर क्षेत्रका झण्डै १ हजार २ सय वटा पक्की संरचनामा डोजर चलाएर भत्काइएको थियो। त्यसपछि सडक विभागले सडकको केन्द्र विन्दुबाट दायाँ–बायाँ २५–२५ मिटर नापेर चिन्ह पनि लगाइसकेको छ ।
चिन्ह लगाइएको सडक क्षेत्रभित्रका बाँकी संरचनाहरु घरधनी आफैले खाली नगरे सडक विभागले फेरि डोजर लगाएर खाली गर्ने सूचना जारी गरिसकेको छ । तर त्यसको विरोधमा निरन्तर आन्दोलन गर्दै घर जग्गाधनी र व्यपारीहरुले बिहीबार मानव साङ्लो बनाएर प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले डोजर आतंक बन्द गर्न माग गरेका छन् । यसअघि वैशाख ११ गते पनि मुख्य सडक क्षेत्रका घर जग्गाधनी र व्यापारीहरुले सडक विस्तारको विरोधमा प्रदर्शन गरेका थिए।




प्रतिक्रिया