काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेललाई नेपाल पूर्व सशस्त्र प्रहरी संघको तर्फबाट बधाई तथा शुभकामना प्रदान गरिएको छ ।
शनिबार आईजीपी पौडेललाई नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित कार्यक्रममा संघको तर्फबाट बधाई तथा शुभकामना प्रदान गरे ।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले सशस्त्र प्रहरी बल, नेपाल र पूर्व सशस्त्र प्रहरी संघबिचको सम्बन्ध केवल औपचारिक मात्र नभई अनुभव र ऊर्जाको इतिहास र वर्तमान, समर्पण र निरन्तरताको सम्बन्ध रहेको बताउँदै बहालवाला संगठन र पूर्व संगठनबिचको सम्बन्ध जति बलियो हुन्छ, संगठनको संस्थागत स्मृति, क्षमता र विश्वसनियता पनि त्यति नै सुदृढ हुँदै जाने समेत बताए ।
आईजीपी पौडेलले भने, ‘आज संगठनले प्राप्त गरेको प्रतिष्ठा, जनविश्वास र संस्थागत पहिचान सहजै निर्माण भएको होइन, यसका पछाडि अग्रजहरूको त्याग, बलिदान, संघर्ष, समर्पण र व्यावसायिकताको लामो इतिहास जोडिएको छ, त्यो इतिहासलाई भविष्य निर्माणको प्रेरणाको रूपमा ग्रहण गर्नुपर्दछ ।’
उनले संगठनको हित र छविसँग सम्बन्धित विषयमा पूर्व संघको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिँदै संगठनको हित, मनोबल र दीर्घकालीन प्रभावसँग सम्बन्धित विषयहरूमा पूर्व संघ सक्रिय हुने विश्वास व्यक्त गरेका छन् ।
सोही अवसरमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सनत कुमार बस्नेतले संगठनमा विगतदेखि नै प्रत्येक नेतृत्वले उल्लेख्य कार्यहरू गर्दैै आइरहेको बताउँदै सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको कार्यकालमा समेत संगठनले आफ्ना विभिन्न क्षेत्रहरूमा थप प्रगति हासिल गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले संगठनमा नेतृत्व परिवर्तन नियमित प्रक्रिया रहेको उल्लेख गर्दै यससँगै वृत्तिविकासको प्रक्रिया अघि बढ्ने बताए ।

कार्यक्रममा महानिरीक्षक पौडेललाई अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरू लगायत अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष सावित्रा कुमारी जैसी, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरू, बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरीक्त महानिरीक्षकहरू, सशस्त्र प्रहरी नायव महानिरीक्षकहरू, सशस्त्र प्रहरी वरिष्ठ अधिकृतहरू लगायत संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया