काठमाण्डु – नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनलाई लक्षित गरी देशभरका क्रियाशील सदस्यहरूको विवरण डिजिटल प्रणालीमा अद्यावधिक गर्ने कार्यलाई उत्साहपूर्वक अगाडि बढाएको छ ।
यसै क्रममा पार्टी केन्द्रीय कार्यालयले सबै क्रियाशील सदस्यहरूलाई आफ्नो आधिकारिक मोबाइल नम्बर प्रणालीमा सूचीकृत गराउन अनुरोध गरेको छ ।
शनिबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसका कार्यबाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सदस्यता अद्यावधिक गर्ने प्रक्रियालाई थप व्यवस्थित र प्रमाणीकरण गर्नका लागि मोबाइल नम्बर सूचीकरण अनिवार्य जस्तै रहेको जानकारी दिए । विज्ञप्ति अनुसार सम्पूर्ण क्रियाशील सदस्यहरूले आफ्नो आधिकारिक मोबाइल नम्बरबाट केन्द्रीय कार्यालयको आधिकारिक नम्बर ९७०१२५५५५५ मा एक पटक सम्पर्क गरी आफ्नो नम्बर दर्ता गराउनुपर्नेछ ।
पार्टीले वडा सभापतिमार्फत भइरहेको सदस्यता अद्यावधिक कार्यलाई यो मोबाइल सूचीकरणले झन् सहज र छिटो बनाउने विश्वास लिएको छ । ‘आफ्नो मोबाइल नम्बर सूचीकृत भएपछि वडा सभापतिमार्फत फर्म भर्ने र सदस्यता नवीकरण गर्ने प्रक्रिया प्राविधिक रूपमा सजिलो हुनेछ,’ विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसले पछिल्लो समय प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिँदै ६ हजार ७४३ वटै वडाहरूमा डिजिटल माध्यमबाटै विवरण संकलन गरिरहेको छ । यसले सदस्यता वितरणमा हुने अनियमितता रोक्ने र वास्तविक तथ्यांक प्राप्त हुने अपेक्षा गरिएको छ ।





प्रतिक्रिया