काठमाण्डु – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूका सञ्चालित दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम आइतबार पनि जारी रहनेछ ।
‘सक्षम सांसद सशक्त संसद्’ भन्ने नाराका साथ पार्टीको प्रशिक्षण विभागले ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा शनिबारदेखि कार्यक्रम आयोजना गरेको हो।
प्रशिक्षणमा संसदीय समितिमा हुने छलफल, सदनमा गरिने प्रस्तुति, संसदीय मर्यादा, जिम्मेवारी, दायित्व र विषयगत छलफलका विषयमा सांसदहरूलाई प्रशिक्षित गरिनेछ।
पार्टीले सांसदहरूको क्षमता विकास, आत्ममूल्याङ्कन, अनुभव आदान–प्रदान र भविष्यको राजनीतिक संस्कार निर्माणका लागि यो कार्यक्रमलाई महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गरेको छ।
शनिबारको प्रशिक्षण कार्यक्रममा संसदीय दलका नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछाने भने सहभागी भएनन्।
आइतबार प्रशिक्षणको दोस्रो दिनको सत्र विशेषगरी राजनीतिक आचरण, कूटनीति र आगामी निर्वाचनको तयारीमा केन्द्रित हुनेछ। सचेतक क्रान्तिशिखा धितालले राजनीतिक मनोविज्ञान, व्यवहार र उच्च नैतिक आचरणका बारेमा प्रशिक्षण दिने छिन् भने परराष्ट्र मन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध र राजकीय मर्यादाका प्राविधिक पक्षहरूबारे जानकारी गराउने छन्।
साथै, सह(महामन्त्री विपिनकुमार आचार्यले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको वैज्ञानिक रूपरेखा र पार्टीको आन्तरिक तयारीबारे कार्यपत्र प्रस्तुत गर्ने छन्।
प्रशिक्षण कार्यक्रमको समापन सत्रमा पार्टी सभापति लामिछानेले विशेष निर्देशनात्मक मन्तव्य राख्ने छन्। सभापति लामिछानेले पार्टीको मुल एजेन्डा, सुशासनप्रतिको प्रतिबद्धता र जनउत्तरदायी सांसदको रूपमा निर्वाह गर्नुपर्ने जिम्मेवारीबारे मार्गनिर्देशन गर्ने छन्।




प्रतिक्रिया