जिल्ला संघहरूलाई २ लाख दिने क्यानको निर्णय, अबदेखि वार्षिक अवार्ड हुने

जिल्ला संघहरूलाई २ लाख दिने क्यानको निर्णय, अबदेखि वार्षिक अवार्ड हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभाले जिल्ला संघहरूलाई २ लाख रुपैयाँका दरले रकम उपलब्ध गराइने निर्णय गरेको छ ।

आईतबार कोशी प्रदेशको विराटनगरमा सम्पन्न साधारण सभाले संघको आगामी आर्थिक वर्षको बजेट, कार्यक्रम र खेलाडीहरूको सम्मानका लागि वार्षिक अवार्ड घोषणा गर्ने लगायतका ६ बुँदे निर्णयहरू पारित गरेको छ ।

क्यानको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक लेखा परीक्षण प्रतिवेदनलाई अनुमोदन गरेको छ । केन्द्रीय कार्यसमितिले पेश गरेको सन् २०२६ को वार्षिक कार्यक्रम, कार्य योजना र बजेटलाई पनि सभाले पारित गरेको छ । यस अवधिमा एसीसी र आईसीसीबाट थप कार्यक्रमहरू आएको खण्डमा त्यसलाई वार्षिक बजेटमा समायोजन गरी कार्यान्वयन गर्ने अख्तियारी केन्द्रीय कार्यसमितिलाई दिइएको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो र दोस्रो संस्करणको आय–व्यय विवरण पारित गर्दै क्यानले प्राप्त आम्दानीको केही हिस्सा जिल्ला संघहरूलाई वितरण गर्ने निर्णय गरेको छ । निर्णयअनुसार क्यानमा आबद्ध देशभरका ४५ वटै जिल्ला क्रिकेट संघहरूलाई २ लाख रुपैयाँका दरले रकम उपलब्ध गराइनेछ । जिल्लाहरूले सञ्चालन गर्ने कार्यक्रमको आधारमा उनीहरूलाई ‘स्कोर कार्ड ग्रान्ट’ समेत प्रदान गरिनेछ ।

खेलाडीहरूको प्रोत्साहनका लागि क्यानले यसै वर्षदेखि प्रत्येक वर्षको डिसेम्बर महिनामा क्यान एनुअल अवार्ड आयोजना गर्ने घोषणा गरेको छ । अवार्डअन्तर्गत उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी (पुरुष र महिला), ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ र ‘मोमेन्ट अफ द इयर’ जस्ता विधाहरूमा पुरस्कार प्रदान गरिने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिइन् ।

विराटनगरमा सम्पन्न साधारण सभाले नेपाली क्रिकेटको ग्रासरुट विकास र व्यावसायिकतामा थप बल पुर्‍याउने विश्वास लिएको छ ।