काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सत्तापक्षले भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिने व्यवस्था संसद्को कार्यसञ्चालन नियमावलीमा समावेश गरेकोमा आपत्ति जनाएको छ ।
बजेट अधिवेशनको पहिलो दिन सोमबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै काँग्रेस सचेतक निश्कल राईले नियमावलीको व्यवस्थामा आपत्ति जनाएका हुन् ।
प्रतिनिधिसभा नियमावली मस्यौदाको नियम २५९ मा त्यससम्बन्धी व्यवस्था समावेश छ । ‘भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिने व्यवस्था किन ?’ उनले प्रश्न गरे, ‘संसद्, संसदीय समिति र सांसदलाई अन्य कानुनले छुनै नसक्ने हामी यति सुप्रिम कसरी हुन सक्छौं ?’ उक्त व्यवस्था भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण ऐनसँग बाझिने राईले बताए ।
राईले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशले संविधानको मर्म लत्याएको आरोप लगाए । ६ सदस्यीय संवैधानिक परिषद्मा ३ जनालाई बहुमत मान्ने विषय स्वीकार्न नसकिने उनको भनाइ थियो ।




प्रतिक्रिया