काठमाण्डु – राष्ट्रिय सभामा नेपाली काँग्रेस संसदीय दलकी नेता कमला पन्तले अध्यादेशमार्फत सपना प्रधान मल्ललाई प्रधानन्यायाधीश बन्नबाट रोकेर प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले जघन्य महिला हिंसा गरेको आरोप लगाएकी छन् ।
सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले अंकगणितको आडमा बालेनले महिलामाथि जघन्य हिंसा गरेको आरोप लगाएकी हुन् ।
संवैधानिक परिषद् बैठकले गत शुक्रबार चौथो वरियताका न्यायाधीश मनोज शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरेको थियो ।
नेता पन्तले कुनै दिन आफ्नी श्रीमतीसँग जोडिएको एउटा घटनामा खुबै संवेदनशील देखिएर सामाजिक सञ्जालमा नानाभाँती लेख्ने प्रधानमन्त्री शाहले अर्को महिलामाथि बहुमतको अहंकार प्रदर्शन गरेको टिप्पणी गरिन् । महिला भएकै कारण कायममुकायम प्रधानन्यायाधीश चलाइरहेकी मल्ललाई पाखा लगाउन खोजिएको आरोप उनको छ ।
‘कुनै दिन आफ्नो श्रीमतीसँग जोडिएको एउटा घटनामा खुबै संवेदनशील देखिएर सामाजिक सञ्जालमा नानाभाँती लेख्नुहुने सम्माननीय प्रधानमन्त्रीज्यूले आज अर्को सक्षम महिलामाथि बहुमतको अहंकार प्रदर्शन गर्नुभएकोबाट समग्र महिलाको मन दुखेको छ,’ पन्तले भनिन्, ‘हामी महिलाहरू दु:खी छौं । महिला भएकै कारणले निमित्त चलाइसकेको सिनियर महिला प्रधानन्यायाधीशमाथि आक्रमण गरिएको छ । अध्यादेश र अंकगणितको आडमा गरिएको यो जगन्य महिला हिंसा हो भन्ने आमठम्याइ छ ।’
परिवर्तनको नारा दिएर आएको सरकारले अध्यादेशमार्फत संवैधानिक परिषद्को कार्यविधिमा पुराना चलखेललाई समेत उछिन्ने गरी पराक्रम देखाएको आरोप पनि उनले लगाइन् ।
प्रधानमन्त्री शाहको सर्वोच्च अदालतको गरिमा, सम्मान र भरोसा पूर्ण निरन्तरता माथि प्रहार गर्ने नियतलाई छर्लङ्ग पारेको टिप्पणी पन्तले गरिन् । सरकारको रवैयाले न्यायिक क्षेत्रको निष्पक्ष निर्मल आकाशमा गलत अभ्यासको धब्बाको विजारोपण भएको उनको आरोप छ ।




प्रतिक्रिया