काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेलले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा भएका अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
उनले पदोन्नति भएका सम्पूर्ण अधिकृतहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संगठनले प्रदान गरेको जिम्मेवारीलाई पूर्ण निष्ठा, इमान्दारिता र समर्पण भावका साथ निर्वाह गर्दै संगठनको गौरव, प्रतिष्ठा र विश्वसनीयतालाई अझ उचाइमा पुर्याउनुपर्ने बताए ।
आईजीपी पौडेलले भने, ‘पदोन्नति केवल दर्जा परिवर्तन मात्र होइन, यो जिम्मेवारी, उत्तरदायित्व, दृष्टिकोण र नेतृत्व क्षमताको विस्तार हो । पदले मात्र व्यक्तिलाई ठूलो बनाउँदैन, पेशागत क्षमता, संगठनप्रतिको आस्था र प्रतिबद्ध सेवाले पदलाई सम्मानित बनाउँछ ।’
उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा परिवेशमा सशस्त्र प्रहरी बल, नेपालले अझ व्यावसायिक, प्रविधिमैत्री, उत्तरदायी र भरोसायोग्य संगठनको रूपमा आफूलाई स्थापित गर्नुपर्ने आवश्यकता रहेको बताउँदै सीमा सुरक्षा, विपद् व्यवस्थापन, आन्तरिक सुरक्षा, संगठित अपराध नियन्त्रण, संवेदनशील संरचनाको सुरक्षा तथा राष्ट्रिय संकटका समयमा संगठनको भूमिकालाई अझ प्रभावकारी र विश्वासिलो बनाउन आवश्यक रहेको बताए ।
आईजीपी पौडेलले सशस्त्र प्रहरी बल नेपालले भ्रष्टाचार, अनियमितता, शक्ति दुरुपयोग, गैरव्यवसायिक व्यवहार तथा अनुशासनहीनताप्रति शून्य सहनशीलताको नीति लिएको उल्लेख गर्दै सांगठनिक हित विपरीतका कार्यहरू तथा गैरव्यावसायिक क्रियाकलापहरू क्षम्य नहुने साथै कार्यक्षेत्रमा पारदर्शिता, निष्पक्षता र जवाफदेहितालाई व्यवहारमा लागू गर्न सोही अवसरमा निर्देशन दिए ।
उनले शीघ्र प्रतिकार्यको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भनि मनसुनको पूर्व सन्ध्यामा नै विपद् प्रतिकार्यको लागि पूर्ण तयारीका साथ संवेदनशील बनेर जिम्मेवार ढंगले फिल्डमा परिचालन हुन समेत निर्देशन दिए ।
प्रधानमन्त्री एवं गृह मन्त्रीस्तरको निर्णयले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा ६ जना र सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा ७ जना पदोन्नति भएका छन् ।
कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष सावित्रा कुमारी पौडेल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु बंशीराज दाहाल र गणेश बहादुर ठाडा मगर लगायत सशस्त्र प्रहरी बल नेपालका सिनियर तथा जुनियर अधिकृत र विल्लादार जवानहरूको उपस्थिति थियो ।




प्रतिक्रिया