एसईई (SEE) नतिजाको तयारी अन्तिम चरणमा: आजै सार्वजनिक हुने सम्भावना

एसईई (SEE) नतिजाको तयारी अन्तिम चरणमा: आजै सार्वजनिक हुने सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ। नतिजा प्रकाशन सम्बन्धी सम्पूर्ण प्राविधिक काम सम्पन्न भइसकेकाले बोर्डले आजै नतिजा ल्याउने गृहकार्य गरेको हो।परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार नतिजाका विषयमा निर्णय गर्न सोमबार अपराह्न ५ बजे बोर्डको बैठक बोलाइएको र बैठकपछि नतिजा प्रकाशनको अन्तिम परीक्षण गरिनेछ।

यदि डेमो सफल भयो र कुनै प्राविधिक समस्या आएन भने आजै राति ८ देखि ९ बजेभित्र नतिजा सार्वजनिक हुनेछ। यद्यपि, प्राविधिक जटिलता आएमा भने नतिजा भोलिका लागि सर्न सक्ने उनले स्पष्ट पारे।

विगतका वर्षहरूमा एसईईको नतिजा आउन करिब तीन महिना लाग्ने गरेको थियो। तर यस वर्ष परीक्षा सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने सरकारको लक्ष्य अनुसार वैशाख २९ गतेको मिति तय गरिएको हो। यसअघि जेठ अन्तिम वा असार पहिलो साता मात्र नतिजा सार्वजनिक हुने प्रचलन थियो। चैत १९ गतेदेखि सुरु भएको परीक्षा चैत २९ गते सकिएको थियो।

यस वर्षको परीक्षा तथ्याङ्क
यस वर्षको एसईईमा देशभरबाट कुल पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी भएका छन्। जसमा नियमिततर्फ चार लाख ४१ हजार ५६६ जना,ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना,लिङ्गका आधारमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना।

नतिजा कसरी हेर्ने कसरी ?
बोर्डले नतिजा सार्वजनिक गरेपछि विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक वेबसाइट, नेपाल टेलिकमको एसएमएस र अन्य विभिन्न नतिजा पोर्टलहरूबाट आफ्नो जीपीए हेर्न सक्नेछन्।