काठमाण्डु– प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह संसद् बैठकबाट बाहिरिएको घटनाबारे जवाफ माग गरेको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद वासना थापाले प्रधानमन्त्री शाहले त्यसबारे जवाफ दिनुपर्ने बताएकी हुन् ।
राष्ट्प्रमु बोलिरहँदा सरकार प्रमुख संसद छाडेर बाहिरिनुलाई संसदीय लोकतन्त्रको इतिहासमा सामान्य अर्थमा लिन नहुने थापाको भनाइ थियो । ‘लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद बिरलै देखिने दृश्य हिजो देखियो’, उनले भनिन्, ‘राष्ट्रपतिज्यूबाट सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीज्यू संसद्बाट बाहिरिनु यो केवल सामान्य दृश्य होइन ।’
लोकतन्त्रमा पदभन्दा ठूलो मर्यादा र मर्यादाभन्दा ठूलो जनविश्वास रहेको थापाले उल्लेख गरिन् ।
‘लोकतन्त्रमा पदभन्दा ठूलो कुरा मर्यादा र मर्यादाभन्दा ठूलो कुरा जनविश्वास हो भन्ने कुरामा ध्यान जओस्,’ थापाले भनिन्, ‘प्रतिपक्षी दलको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूको जवाफको माग गर्दछु ।’ उनले सरकारमा बस्नेसँग संवैधानिक संस्कार, संसदीय परम्परा, राज्यको उत्तरदायीत्व र गम्भीरता हुनुपर्ने बताइन् ।




प्रतिक्रिया