आफ्नै नीति कार्यक्रम पढिरहँदा बैठक छाडेकोमा बालेनको नाम गिनिज बूकमा लेखिन सक्छ : काँग्रेस

आफ्नै नीति कार्यक्रम पढिरहँदा बैठक छाडेकोमा बालेनको नाम गिनिज बूकमा लेखिन सक्छ : काँग्रेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ बिचैमा उठेर बाहिरिएको घटनाप्रति आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै काँग्रेस संसदीय दलका नेता भिष्मराज आङदेम्बेले बालेनले अमर्यादित व्यवहार गरेको आरोप लगाए । उनले आफ्नै नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत भइरहँदा प्रधानमन्त्री बैठक छाडेर बाहिरिएको घटना ‘गिनिज बूक अफ दि वर्ल्ड रेकर्ड’मा दर्ज हुने भन्दै ब्यंग्य गरे ।

‘आफ्नै सरकारको नीति कार्यक्रम संसद्मा पेश भइरहँदा संसारको कुनै देशका प्रधानमन्त्री बिचैमा उठेर हिँडे भनेर गिनिज बूकमा अब हाम्रा देशका प्रधानमन्त्रीको नाम लेखिने भएको छ,’ उनले भने, ‘यस्तो लेखिन लागेकामा म उहाँलाई बधाई दिउँ कि, दु:ख व्यक्त गरौं सभामुख महोदय !’ उनले आफू सामाजिक सञ्जालमा लाखौंले लेखेजस्तो अमर्यादित व्यवहार प्रधानमन्त्रीले देखाए भन्ने सिधा आरोप लगाउन नचाहे पनि त्यसबारे जवाफ दिनुपर्ने बताए ।

गृहमन्त्री समेतको भूमिकामा रहेका प्रधानमन्त्री शाह उपस्थित नहुँदा संसद्को राज्य व्यवस्था तथा सुशासन समिति बैठक अनिर्णयको बन्दी बनिरहेको बताए । ‘प्रधानमन्त्रीको कारण राज्य व्यवस्था समितिको बैठक बस्न सकेको छैन । प्रधानमन्त्रीज्यू आउनुस्,’ उनले भने, ‘सम्बन्धित मन्त्रालय चाहिन्छ । कि गृहमन्त्री बनाउनुपर्‍यो कि गृहमन्त्रीको जिम्मेवारी लिएको गृहमन्त्री समितिमा आउनुपर्‍यो । राज्य व्यवस्था समितिजस्तो गम्भीर र महत्वपूर्ण समितिमा दुई वचन जवाफ दिन हिच्किचाइरहनुभएको छ ।  मुलुकको दर्दनाक अवस्थाप्रति सांसदले राखेको प्रश्नमा राज्य व्यवस्था समिति प्रधानमन्त्रीका कारण अनिर्णयको बन्दी बनेको छ ।’