एसईईमा ननग्रेडेडका लागि सरकारले पुरक परीक्षा तयारी कक्षा सञ्चालन गर्ने

एसईईमा ननग्रेडेडका लागि सरकारले पुरक परीक्षा तयारी कक्षा सञ्चालन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजामा ‘ननग्रेडेड’ विद्यार्थीका लागि पुरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने बताएका छन् ।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको मंगलबारको बैठकमा मन्त्री पोखरेलले सरकारले १ महिनाभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने प्रतिबद्धता कार्यान्वयन गरेको बताउँदै अब परीक्षामा असफल हुने विद्यार्थीका लागि पुरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने बताए ।

सोमबार प्रकाशित नतिजाअनुसार २ लाख ८४ हजार १६० विद्यार्थी ‘ग्रेडेड’ भई ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी सफल भएका छन् भने १ लाख ४६ हजार ५०७ विद्यार्थी ‘ननग्रेडेड’ भएका छन् । ‘ननग्रेडेड’ भएका विद्यार्थीले ग्रेडवृद्धि (मौका) परीक्षाको लाभ लिने भएका छन् ।

मन्त्री पोखरेलले देशभरका सम्पूर्ण विद्यालय भवन, खेलमैदान, शिक्षक, कर्मचारी, विद्यार्थी र अन्य संरचनाको विस्तृत अध्ययन पूरा प्राप्त हुने तथ्यका आधारमा विद्यालय तहको सम्पूर्ण पूर्वाधार पुन:संरचना गरिने बताएका छन् ।

बैठकमा सांसदहरूले सुकुमवासी बस्तीबाट विस्थापित बालबालिकाको पठनपाठनकाका लागि सरकारले विशेष व्यवस्था गर्नुपर्ने, शिक्षा विधेयक तत्काल ल्याउनुपर्ने, खेलकुद विश्वविद्यालय स्थापना गरिनुपर्ने र विद्यार्थीहरूका लागि ई–बूकको व्यवस्था गर्न सुझाव दिएका छन् ।

सांसदहरूले विद्यालय खाजा कार्यक्रममा हुने गरेको अनियमितता रोक्न र विभिन्न १७ प्रकारका शिक्षकका समस्या समाधान गर्न सरकारले तत्काल कदम चाल्नुपर्ने विचार व्यक्त गर्दै व्यावसायिक र सीपमूलक शिक्षाका लागि विद्यालय तहको पाठ्यक्रम परिमार्जन गर्न सरकारको ध्यानाकर्षण गराए ।

शिक्षा मन्त्रालयका उच्च अधिकारीहरूले हालसम्म भए गरेका कार्यप्रगति विवरण पेश गर्दै देशभरका २७ हजार सामुदायिक विद्यालयमा २ लाख ३२ हजार १०५ शिक्षक तथा कर्मचारी रहेको जानकारी गराइएको थियो ।