मोबाइल ‘स्वीच अफ’ गरी भाग्न खोज्दा इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ

मोबाइल ‘स्वीच अफ’ गरी भाग्न खोज्दा इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेलाई प्रहरीले सिन्धुलीबाट पक्राउ गरेको छ ।

स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रक्रियामा ठगी र आपराधिक विश्वासघात गरेको आरोपमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले ६३ वर्षीय पाण्डेलाई मंगलबार राति करिब ८ बजे कमलामाई नगरपालिका–६ स्थित मदन भण्डारी राजमार्गको बसपार्क क्षेत्रमा सवारी चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो ।

मोबाइल स्वीच अफ गरी भागिरहेको अवस्थामा उनलाई फेला पारिएको प्रहरीले जनाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७० सालमा अनुमतिपत्र लिई सञ्चालनमा आएको स्मार्ट टेलिकम प्रालिले नवीकरण नगरेपछि २०८० वैशाख ३ गते लाइसेन्स स्वत: रद्द भएको थियो । लाइसेन्स रद्द भएसँगै दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ बमोजिम कम्पनीका सम्पूर्ण पूर्वाधार, प्रणाली र सञ्जाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा आएको थियो ।

तर नेपाल सरकारको नियन्त्रणमा रहेको सम्पत्तिमाथि बेइमानीपूर्वक हक टुटाउने उद्देश्यले ‘लोन रिकभरी कमिटी’ (एलआरसी) को अध्यक्षको हैसियतमा पाण्डेले लिलामी प्रक्रिया अघि बढाएको आरोप छ । उनले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी तथा आपराधिक विश्वासघातको कसुर गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

बैंकले २०८२ असोज ३ गते लिलामीको सूचना निकाल्दा उपकरण जडान भएका घरधनीहरूलाई तिर्नुपर्ने बहाल र विद्युत् महसुलबापत ४० करोड रुपैयाँ थप गरी बोलपत्र पेश गर्नुपर्ने शर्त राखेको थियो । रकम बैंकले असुल गरे पनि हालसम्म सम्बन्धित घरधनी र विद्युत् प्राधिकरणलाई नतिरी ठगी गरेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ ।

पक्राउ परेका पाण्डेलाई थप कानुनी कारबाही र अनुसन्धानका लागि काठमाण्डु ल्याइँदैछ ।