काठमाण्डु – नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा भारतस्थित काउन्सिल फर इन्टिग्रेटिभ वैद्य इनोभेसन एण्ड कोलाबरेसन (सिभिक) ले ‘इन्टरनेशनल आयुष कन्क्लेभ’ आयोजना गर्ने भएको छ ।
चौथो संस्करणको कन्क्लेभ आगामी १२ देखि १४ जुनसम्म काठमाण्डुमा आयोजना हुन लागेको हो । संस्थाका प्रतिनिधि डा. एमएम कुरैशीका अनुसार कार्यक्रममा वैज्ञानिक सत्र, अनुसन्धानमा आधारित प्रस्तुति तथा अन्तरराष्ट्रिय ज्ञान आदानप्रदानलाई विशेष प्राथमिकता दिइनेछ ।
उनका अनुसार आयुष क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई आयुष लेजेष्डरी अवार्ड, आयुष एक्सिलेन्स अवार्ड, आयुष राइजि¨ अवार्ड तथा आयुष इन्टरप्राइज अवार्ड प्रदान गरी सम्मान गरिनेछ ।
आयुष चिकित्सकहरूको एकै मञ्चमा सबैभन्दा ठूलो क्लिनिकल डायग्नोसिस सत्र सञ्चालन गरी ‘लेजेन्ड्स वर्ल्ड रेकर्ड’ कायम गर्ने प्रयास पनि गरिने जनाइएको छ ।
कन्क्लेभमा आयुर्वेद, योग, प्राकृतिक चिकित्सा, युनानी, सिद्ध, होमियोप्याथी लगायत विभिन्न आयुष प्रणालीलाई एउटै मञ्चमा ल्याइनेछ । सहभागीहरूले स्वास्थ्य अभ्यासमा कृत्रिम बुद्धिमत्ता (एआई) तथा आधुनिक प्रविधिको प्रयोगबारे समेत जानकारी प्राप्त गर्नेछन् ।
कार्यक्रम आयुष क्षेत्रलाई अन्तरराष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको छ । कन्क्लेभको मुख्य उद्देश्य आयुष प्रणालीलाई विश्वव्यापी मान्यता दिलाउनुका साथै चिकित्सकहरूलाई भविष्य उन्मुख प्रविधिसँग परिचित गराउनु रहेको आयोजकले जनाएको छ ।
नेपाल चेम्बर अफ कमर्सका ट्रेड फेयर समितिका सभापति राष्ट्र भूषण चाकुबजीका अनुसार भारतका २० भन्दा बढी राज्यसहित १० भन्दा बढी देशबाट २०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।
यसअघि यस्तै प्रकारको आयुष कन्क्लेभ भारतका आग्रा, गोवा र जयपुरमा सफलतापूर्वक सम्पन्न भइसकेको छ । नेपालमा भने आयुष कन्क्लेभ पहिलो पटक आयोजना हुन लागेको छ ।




प्रतिक्रिया