काठमाण्डु – डिजिटल सेवामार्फत विश्वभरका नेपालीहरूलाई जोड्दै आएको लोकप्रिय प्लेटफर्म ‘हाम्रो पात्रो’ले आफ्नो रेमिट्यान्स सेवा ‘हाम्रो पात्रो रेमिट’मार्फत विशेष सामाजिक उत्तरदायित्व कार्यक्रमको सुरुवात गरेको छ ।
‘सेन्ड लोकल, सपोर्ट लोकल’ भन्ने मूल नाराका साथ सुरु गरिएको पहलअन्तर्गत अस्ट्रेलिया र संयुक्त राज्य अमेरिकाबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्कको निश्चित अंश देशभरका निम्न वर्गीय विद्यार्थीहरूलाई सहयोग गर्न खर्च गरिने कम्पनीले जनाएको छ ।
अभियानको पहिलो चरण सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकास्थित बाङबा आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेर शुभारम्भ गरिएको छ । शनिबार आयोजित कार्यक्रमबिच विद्यार्थीहरूलाई स्कूल ब्याग, कापी र पेन्सिलहरू वितरण गरिएको थियो । सहयोगलाई विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकहरूले उत्साहका साथ ग्रहण गरेका थिए ।
विद्यालयकी प्रधानाध्यापक निर्मला श्रेष्ठले हाम्रो पात्रो रेमिटको कदमप्रति आभार व्यक्त गर्दै भने, ‘यस्ता पहलहरूले हाम्रा विद्यार्थीहरूलाई टाढाबाटै भए पनि कसैले उनीहरूको भविष्यप्रति चिन्ता र माया राख्छ भन्ने अनुभूति गराउँछ । यसले साना बाल मस्तिष्कहरूमा आशा र उत्साह थपेको छ ।’
हाम्रो पात्रोको फिनटेक अपरेसनका निर्देशक सुदिना गौतमले अभियानको उद्देश्यबारे स्पष्ट पार्दै भने, ‘हाम्रो पात्रो रेमिटमार्फत प्रयोगकर्ताहरूले पैसा पठाउँदा, ट्रान्सफर केवल उहाँहरूको परिवारसम्म मात्र होइन, समुदायसम्म पनि पुग्छ । अभियान हामीमाथि विश्वास राखेर कारोबार गर्ने सम्पूर्ण प्रयोगकर्ताहरूलाई धन्यवाद व्यक्त गर्ने हाम्रो एउटा तरिका हो ।’
आगामी दिनमा यस अभियानलाई देशका अन्य दुर्गम क्षेत्रका विद्यालयहरूमा समेत विस्तार गर्दै लैजाने योजना कम्पनीले बनाएको छ । हाम्रो पात्रो रेमिटले हाल अमेरिका र अष्ट्रेलियाबाट सरल, सुरक्षित र द्रुत डिजिटल प्रविधिमार्फत नेपालमा रकम पठाउने सुविधा प्रदान गर्दै आएको छ । सामाजिक पहलले विदेशमा रहेका नेपालीहरूलाई रेमिट्यान्स पठाउँदा सामाजिक सेवामा समेत जोडिने अवसर प्रदान गरेको छ ।




प्रतिक्रिया