काठमाण्डू – प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची छ ।
संघीय संसद् सचिवालयले तय गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शाहले राष्ट्रपतिद्वारा २८ वैशाखमा संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत सकरारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिने उल्लेख छ ।
यसअघि प्रधानमन्त्री शाहले आफ्नो तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रश्नहरुको जवाफ दिने जानकारी सभामुख डोलप्रसाद अर्याललाई गराएपछि विपक्षी दलहरुले संसद बैठक अवरुद्ध गरेका थिए । आफैंले राष्ट्रपतिसमक्ष पेश गरेको नीति कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्री स्वयंले जवाफ नदिएर संसद र राष्ट्रपतिको मानमर्दन गरेको आरोप विपक्षीले लगाएका थिए ।
छलफलपछि आजै नीति तथा कार्यक्रममाथि प्राप्त संशोधन निर्णयार्थ प्रस्तुत गर्ने र आजै पारित गर्ने कार्यसूचीमा छ । यस्तै अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष ०८३\०८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने पनि सम्भावित कार्यसूचीमा छ ।




प्रतिक्रिया