काठमाण्डू, ३१ वैशाख– हाल देशका विभिन्न भागमा वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण वर्षात भएको हो ।
बिहीबार बिहान बागमती र कोशी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा रेकर्ड गरिएको छ । यस्तै पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका विभिन्न स्थानमा वर्षात भएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा अहिले पनि मध्यम वर्षा भइरहेको छ ।
काठमाण्डूको सुन्दरीजल क्षेत्रमा १३ मिलिमिटर वर्षा मापन गरिएको छ । यस्तै सिन्धुपाल्चोकको दुवाचौर, नवलपुर आसपास तथा लमजुङको रैनास्टार र कुन्छा क्षेत्रमा पनि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाले दिउँसो कोशी प्रदेशका केही स्थानसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागमा वर्षाको सम्भावना रहेको जनाएको छ । साथै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
आज राति पनि कोशी र मधेश प्रदेशका केही स्थान, बागमती र गण्डकीका हिमाली तथा पहाडी भू–भाग तथा कर्णाली प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।




प्रतिक्रिया