बालेन आज पनि संसदमा नजाने, बैठक अवरुद्ध गर्ने विपक्षको चेतावनी

बालेन आज पनि संसदमा नजाने, बैठक अवरुद्ध गर्ने विपक्षको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डू, ३१ वैशाख– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज पनि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिन संसद् बैठकमा नजाने भएका छन् ।

शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन भनेका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख डोलप्रसाद अर्याल (डिपी) ले त्यसबारे प्रमुख सचेतकहरुलाई जानकारी गराएका छन् । विपक्षी काँग्रेस, एमाले, नेकपा, राप्रपा र श्रम संस्कृति पार्टीका प्रमुख सचेतकहरुले प्रधानमन्त्री शाह नआए आज पनि संसद बैठक अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।

यसअघि बुधबार पनि प्रधानमन्त्री शाहले छलफलमा उठेका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने जानकारी संसदलाई गराएका थिए । प्रधानमन्त्री जवाफ दिन उपस्थित हुनुपर्ने भन्दै विपक्षी दलहरुले बैठक अवरुद्ध गरेका थिए ।


‘सम्माननीय प्रधानमन्त्रीको तर्फबाट माननीय अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले सम्माननीय राष्ट्रपतिले २०८३ वैशाख २८ गते सोमबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आ.व.२०८३/०८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुने’, आजको बैठकको कार्यसूचीको दोश्रो बुँदामा छ ।

नेकपा प्रमुख सचेतक युवराज दुलालले सभामुख अर्यालले आफूहरुलाई प्रधानमन्त्रीको साटो अर्थमन्त्रीले जवाफ दिने जानकारी गराएको बताए ।

प्रधानमन्त्री नआएसम्म बैठक चल्न नसक्ने अडानमा आफूहरु कायमै रहेको उनले उल्लेख गरे । दुलालले प्रधानमन्त्रीले संसदलाई नटेरेको भन्दै रुलिङ गर्न सभामुखलाई आग्रह गरिएको बताए ।