काठमाण्डू– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद गोपाल शर्माले सरकारको वार्षिक नीति तथा कार्यक्रममा पुरानै सरकारहरुका नीति कार्यक्रमको झल्को दिएको दाबी गरेका छन् ।
नीति तथा कार्यक्रममाथिको छलफलमा संशोधन प्रस्तुत गर्दै बिहीबार प्रतिनिधिसभा बैठकमा शर्माले नयाँ दलको सरकारले नीति कार्यक्रममा नयाँपन दिन नसकेको बताए ।
‘सबैले चासो पूर्वक अपेक्षा गरेका थिए कि नयाँ भनिएको दल र यसले नेतृत्व गरेको सरकारले केही नयाँ नीति तथा कार्यक्रम ल्याउने छ । तर, त्यो अपेक्षाअनुरुप नीति तथा कार्यक्रम आउन नसकेको सार्वजनिक रुपले समेत टिप्पणी भइसकेको छ’, उनले भने, ‘नयाँ दलको नयाँ सोच, लक्ष्य र शैली यसमा झल्किएको देखिँदैन । बरु विगतका सरकारहरुले प्रस्तुत गरेका नीति तथा कार्यक्रमकै झल्को आएको छ ।’
नीति तथा कार्यक्रम प्रस्तुत गर्दा होस् या यसको छलफलको प्रक्रिया अगाडि बढाउँदा खोज्दा सरकार हतारोमा रहेको उल्लेख गरे । नीति कर्यक्रममा संशोधन हाल्ने, छलफल गर्ने, जवाफ दिने र निर्णयार्थ प्रस्तुत गर्ने समयसीमाले पनि सरकार हतारोमा रहेको पुष्टि हुने उल्लेख गरे ।
राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा बैठक छाडेर हिंडेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) अझै बैठकमा उपस्थित नभएकामा प्रश्न गरे ।
‘सम्माननीय राष्ट्रपतिज्यूले सम्बोधन गर्दै गर्दा सदन छाडेर अन्तै दौडिइराखेका र हालसम्म सदनमा उपस्थित हुन नसकेका हाम्रा प्रधानमन्त्रीज्यूको गतिमा ताल मिलाएर हामी छलफलमा सहभागी हुनुपर्ने परिस्थिति छ’, उनले भने, ‘सरकार प्रमुखको व्यवहारले बताउँछ कि छलफल र टिप्पणी धेरै जरुरी छैन ।’
शर्माले सरकारको नीति तथा कार्यक्रम दिशाहीन रहेको आरोप लगाए । मन्त्रालयहरुका नियमित प्रस्तावहरुलाई जोडेर ल्याइएको नीति कार्यक्रमले जनअवपेक्षा पुरा गर्न नसक्ने टिप्पणी गरे । ‘शब्दमा मात्र देखिएको आर्थिक सुधार कार्यक्रममा देखिँदैन । यसले हाम्रो देशको गरिब र गरिबी चिन्न सकेको छैन वा देख्न सकेको छैन । मुख्य प्राथमिकतामा पर्नुपर्ने कृषि क्षेत्रलाई उपेक्षा गरिएको छ । जनताले शब्दमा भन्दा व्यवहारमा सरकार खोजिरहेको छ’, शर्माले भने, ‘सारतः सरकारको नीति तथा कार्यक्रम शब्दले भरिभराउ तर दिशाविहीन देखिन्छ ।’




प्रतिक्रिया