काठमाण्डु- भारत सरकारले सुन र चाँदीको आयात शुल्क ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याएपछि दक्षिण एसियाली सुन बजारमा ठूलो प्रभाव परेको छ। यस निर्णयले भारतमा सुनको मूल्य ऐतिहासिक रूपमा बढेको छ भने नेपाल भारतबीचको मूल्य अन्तरका कारण सीमावर्ती क्षेत्रमा अवैध कारोबार र तस्करीको जोखिम बढेको व्यवसायीहरूले बताएका छन्।
नयाँ व्यवस्थाअनुसार भारतमा सुन आयात गर्दा १० प्रतिशत आधारभूत भन्सार शुल्क र ५ प्रतिशत कृषि पूर्वाधार तथा विकास उपकर (AIDC) तिर्नुपर्ने भएकाले कुल कर भार १५ प्रतिशत पुगेको छ। यससँगै भारतीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।
विशेषज्ञहरूका अनुसार भारत र नेपालबीच सुनको मूल्यमा देखिएको करिब १६ हजार रुपैयाँ प्रतितोला अन्तरले नेपालमा सस्तो सुनको आकर्षण बढाएको छ। नेपालमा भने सुन आयातमा १० प्रतिशत भन्सार शुल्क लाग्दै आएको छ।
व्यवसायीहरूका अनुसार मूल्य अन्तर बढेसँगै सीमावर्ती क्षेत्रमा सुनको अनौपचारिक कारोबार र तस्करी पुन सक्रिय हुने जोखिम देखिएको छ। विगतमा घटेको अवैध सुन कारोबार पुन ब्युँतिन सक्ने भन्दै सचेत रहनुपर्ने उनीहरूको भनाइ छ।
यसअघि सुनको आपूर्ति र मूल्य अन्तरका कारण विभिन्न अवैध मार्गबाट हुने कारोबार घटेको भए पनि भारतमा मूल्य बढेपछि पुराना तस्करी रुटहरू पुनसक्रिय हुने सम्भावना देखिएको छ।
अर्थविद्हरूका अनुसार यस्तो अवस्थाले नेपालको विदेशी मुद्रा बजारमा समेत असर पार्न सक्छ। अवैध कारोबार बढेमा डलरको माग वृद्धि हुने र अनौपचारिक बजारमा भारुको प्रवाह बढ्ने जोखिम रहेको उनीहरूको भनाइ छ।
त्यस्तै, मूल्य अन्तरका कारण नेपालमा गहना बजारमा ग्राहक आकर्षण बढ्ने अपेक्षा भए पनि सुरक्षा चुनौती र सीमा निगरानीको आवश्यकता अझ बढेको सरोकारवालाहरूले बताएका छन्।
भारत सरकारले विदेशी मुद्रा सञ्चिति जोगाउने र व्यापार घाटा घटाउने उद्देश्यले आयात शुल्क वृद्धि गरे पनि यसको प्रभाव नेपालसम्म फैलिएको देखिएको छ। विज्ञहरूले सीमा क्षेत्रमा कडाइका साथ निगरानी गर्न र अवैध कारोबार नियन्त्रणमा विशेष ध्यान दिन सरकारलाई आग्रह गरेका छन्।




प्रतिक्रिया