काठमाण्डू– सेयर बजारको ओरालो यात्राले बिहीबार पनि निरन्तरता पायो ।
दुई कारोबार दिनयता लगातार घटिरहेको नेप्से परिसूचक यस दिन पनि घटेर कारोबार बन्द भएको छ ।
बिहीबार नेप्से १०.०७ अंक घटेर २७३०.१७ बिन्दुमा झरेको छ ।
नेप्से घटेपनि कारोबार रकममा भने केही वृद्धि भएको छ । अघिल्लो कारोबार दिन २ अर्ब ८० करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा ३ अर्ब २९ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।
३ सय ३७ स्टकको ४६ हजार ४ सय २ पटकको कारोबारमा यूनियन हाइड्रो पावरको सेयरमूल्य सर्वाधिक ९.७९ प्रतिशतले बढेको छ । एशियन हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ९.८९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको ३७ करोड ६८ लाख २६ हजार रुपैयाँबराबरको शेयर कारोबार भयो ।
१३ उपसमूहमध्ये तीन उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ ।
जीवन बीमा, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ । अन्य उपसमूहको परिसूचक सर्वाधिक २ प्रतिशतले घटेको छ ।




प्रतिक्रिया