गृह सचिव श्रेष्ठद्वारा सशस्त्र प्रहरीको पर्वतीय उद्धार तालिम शिक्षालयको उद्घाटन

गृह सचिव श्रेष्ठद्वारा सशस्त्र प्रहरीको पर्वतीय उद्धार तालिम शिक्षालयको उद्घाटन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–४ हुम्डेस्थित ३ हजार ४२० मिटर उचाइमा अवस्थित सशस्त्र प्रहरी बल नेपालको पर्वतीय उद्धार तालिम शिक्षालयको उद्घाटन गरेका छन् ।

बिहीबारै उनले शिक्षालयमा सञ्चालन भएको सि.स. २ उच्च भूभाग खोज तथा उद्धार तालिमको समापन गरेका छन् । उनले विपद् उद्धार कार्यमा सशस्त्र प्रहरी कर्मचारीहरूको ज्ञान, त्याग र साहसको प्रशंसा गर्दै उच्च भूभागमा खोज तथा जोखिमपूर्ण उद्धार कार्यले विपद्मा परेकाहरूको उद्धारका साथै पर्यटन क्षेत्रमा समेत टेवा पुग्ने बताए ।

गृह सचिव श्रेष्ठले अकस्मात आउन सक्ने विपद् कार्यहरूमा सीमित स्रोतसाधनको बाबजुत पनि सशस्त्र प्रहरी बल नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको र सशस्त्र प्रहरी बल नेपाललाई विपद् व्यवस्थापनको क्षेत्रमा आवश्यक दक्ष जनशक्ति र स्रोतसाधन सम्पन्न बनाउन मन्त्रालय सदैव प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेलले विपद् व्यवस्थापनको क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले राष्ट्रको भरोसायोग्य सुरक्षा संगठनका रूपमा आफूलाई स्थापित गर्दै आइरहेको उल्लेख गर्दै उच्च पहाडी तथा हिमाली क्षेत्रमा आकस्मिक घटना तथा चुनौतीहरूलाई प्रभावकारी रूपमा सामना गर्न खोज तथा उद्धार कार्यका लागि दक्ष र साहसी जनशक्ति उत्पादन गर्ने उद्देश्यले शिक्षालयको स्थापना गरिएको बताए ।

उनले पर्वतीय उद्धार क्षमता केवल सुरक्षा व्यवस्थाको विषय मात्र नभई नेपालको राष्ट्रिय प्रतिष्ठा, पर्यटन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय विश्वास तथा मानवीय उत्तरदायित्वसँग प्रत्यक्ष रूपमा जोडिने भएको हुँदा ज्ञान र सीपलाई व्यवहारमा उतारी उच्च हिमाली तथा दुर्गम क्षेत्रमा जीवन रक्षाको कार्यमा परिचालन हुन सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।

महानिरीक्षक पौडेलले शिक्षालयको थप सुदृढीकरणका लागि आवश्यक भौतिक पूर्वाधार, आधुनिक उद्धार उपकरण तथा स्रोतसाधन, बस्दोबस्ती सम्बन्धमा आपतकालीन व्यवस्था तथा उद्धार कार्यका लागि हेलिकप्टर र कठिन प्रकृतिको काममा खटिने कर्मचारीहरूको मनोबल उच्च राख्नका लागि जोखिम भत्ताको व्यवस्था भएमा उच्च हिमाली क्षेत्रमा उद्धार कार्य अझ प्रभावकारी हुने बताए ।

उच्च भूभाग खोज तथा उद्धार तालिमका ४ जना प्रशिक्षक तथा १८ प्रशिक्षार्थीहरूले बैशाख २९ गते ६ हजार ३८ मिटर अग्लो चुलु फार ईस्ट हिमालको समेत सफल आरोहण गरेका थिए । यसअघि २०८२ असोज २५ गते सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज पौडेलको कमाण्डमा पहिलो पटक ७ जनाले चुलु फार ईस्ट हिमालको सफल आरोहण गरेका थिए भने २०८२ असोज ९ गते सशस्त्र प्रहरी नायव उपरीक्षक जोगेन्द्र केसीको कमाण्डमा २१ जनाले सफल आरोहण गरेका थिए ।

कार्यक्रममा मनाङ जिल्ला ङिस्याङ गाउँपालिकाका अध्यक्ष, गृह मन्त्रालय विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख, सशस्त्र प्रहरी नायव महानिरीक्षकहरू, मनाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, शिक्षालयका समादेशक लगायत सिनियर अधिकृत, जुनियर अधिकृत तथा विल्लादार जवानहरूको उपस्थिति थियो ।

२०७७ सालमा मनाङ जिल्ला सदरमुकाममा स्थापना भई २०७८ साल वैशाखदेखि ङिस्याङ गाउँपालिका–४ स्थित हुम्डेमा शिक्षालय स्थानान्तरण भएको हो । हालसम्म ७५ जनाले उच्च भूभाग खोज तथा उद्धार आधारभूत तालिम, ५५ जनाले उच्च भूभाग खोज तथा उद्धार एडभान्स तालिम र १२० जनाले रोप रेस्क्यु तालिम प्राप्त गरेका छन् ।

शिक्षालयमा सञ्चालन भएका विभिन्न तालिम तथा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले मनाङ, मुस्ताङ लगायतका हिमाली जिल्लाहरूमा गत कात्तिक महिनामा हिउँमा फसेका व्यक्तिहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धार, भारी हिमपातमा फसेका १ हजार ५०० नागरिकहरूको सकुशल उद्धार लगायत अवरुद्ध सडकहरू पुन: सञ्चालन, अलपत्र परेका तथा बेपत्ता भएका व्यक्तिहरूको खोज तथा उद्धार गर्नुका साथै लेक लागेका स्वदेशी तथा विदेशी पर्यटकहरूको उद्धार गरेका छन् ।