काठमाण्डु- देशभर पश्चिमी वायुको प्रभाव कायम रहँदा आज विभिन्न प्रदेशमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी तथा स्थानीय वायुका साथै मुलुक नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ।
हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने अन्य क्षेत्रहरूमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ। बागमती र गण्डकीका केही स्थान तथा कोशी प्रदेशका एक दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। यी प्रदेशका केही स्थान तथा अन्य पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।
त्यसैगरी आज राति पनि मौसम बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक दुई स्थानमा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।




प्रतिक्रिया