मोटोपना नियन्त्रणमा लौकाको जुस उपयोगी, सेवन गर्दा सावधानी अपनाउन विज्ञको सुझाव

मोटोपना नियन्त्रणमा लौकाको जुस उपयोगी, सेवन गर्दा सावधानी अपनाउन विज्ञको सुझाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- पछिल्लो समय मोटोपना विश्वव्यापी रूपमा गम्भीर स्वास्थ्य समस्याका रूपमा देखिन थालेको छ। मोटोपनाका कारण फ्याटी लिभर, मुटुरोग, मिर्गौला समस्या तथा अन्य दीर्घरोगको जोखिम बढ्ने चिकित्सकहरूले बताएका छन्।

स्वास्थ्य विज्ञहरूका अनुसार तौल नियन्त्रणका लागि सन्तुलित आहार, नियमित व्यायाम र स्वस्थ पाचन प्रणाली आवश्यक हुन्छ। यसै सन्दर्भमा लौकाको जुसलाई प्राकृतिक तथा उपयोगी पेयका रूपमा हेरिएको छ। आयुर्वेदमा समेत लौकालाई स्वास्थ्यका लागि लाभदायक मानिएको छ।

लौकामा ९० प्रतिशतभन्दा बढी पानी हुने तथा प्रशस्त फाइबर पाइने भएकाले यसले पेट लामो समयसम्म भरिएको महसुस गराउँछ। कम क्यालोरी र उच्च फाइबरयुक्त भएकाले तौल घटाउन खोज्नेहरूका लागि लौकाको जुस लाभदायक मानिन्छ।

विज्ञहरूका अनुसार लौकाको जुसले मेटाबोलिज्म सुधार गर्न, शरीरलाई डिटोक्सिफाइ गर्न तथा पाचन प्रणालीलाई सक्रिय बनाउन मद्दत गर्छ। यसमा पाइने घुलनशील फाइबरले भोक नियन्त्रण गर्न सहयोग पुर्‍याउँछ, जसले अनावश्यक खानपान कम गर्न मद्दत गर्ने बताइएको छ।

लौकामा पानी, आइरन तथा विभिन्न भिटामिनहरू प्रशस्त मात्रामा पाइन्छन्। गर्मीयाममा यसको जुस सेवन गर्दा शरीरलाई शीतल राख्न, थकान कम गर्न र डिहाइड्रेसन हुनबाट जोगाउन सहयोग पुग्ने जनाइएको छ।

स्वास्थ्य विज्ञहरूले स्वस्थ वयस्कले दैनिक १५० देखि २०० मिलिलिटर अर्थात् एक सानो गिलास लौकाको जुस सेवन गर्न सक्ने बताएका छन्। बिहान खाली पेटमा यसको सेवन प्रभावकारी मानिए पनि जुस पिएपछि कम्तीमा आधा घण्टासम्म केही नखान सुझाव दिइएको छ।

यद्यपि, लौकाको जुस सेवन गर्दा सावधानी अपनाउनुपर्ने चिकित्सकहरूको भनाइ छ। जुस बनाउनुअघि लौकाको सानो टुक्रा चाख्नुपर्ने र तितो स्वाद आएमा सेवन नगर्न चेतावनी दिइएको छ। तितो लौकामा ‘कुकुरबिटासिन’ नामक विषाक्त पदार्थ हुने भएकाले यसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने विज्ञहरूले बताएका छन्।