काठमाण्डु- मध्यपहाडी राजमार्ग अन्तर्गत रुकुम पश्चिमको चौरजहारी क्षेत्रमा आजदेखि २० दिनसम्मका लागि यातायात सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ । २०८३ जेठ २ गते देखि आगामी २० दिनसम्मका लागि यो सडक खण्ड बन्द रहने सडक डिभिजन कार्यालय, चौरजहारीले जानकारी दिएको हो ।
मध्यपहाडी राजमार्गको स्यालापाखा मुसिकोट खण्ड अन्तर्गत चौरजहारी नगरपालिका वडा नं ३ को क्षेत्रमा अहिले आवधिक मर्मत सम्भारको काम भइरहेको छ । सोही योजना अन्तर्गत टाँटागाउँ स्यालाखोला चौरजहारी देखि मटेलातर्फ जोड्ने सडकमा ढलान कार्य गर्नुपर्ने भएकाले सडक बन्द गर्नु परेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
सूचना अनुसार आज २०८३ जेठ २ गतेदेखि जेठ २२ गतेसम्म जम्मा २० दिनका लागि यो सडक पूर्ण रूपमा बन्द रहनेछ । निर्माण कार्यलाई तीव्रता दिन र गुणस्तरीय ढलानका लागि सवारी आवागमन रोक्नु अनिवार्य भएको डिभिजन कार्यालयको भनाइ छ।
सडक बन्द भएको अवधिभर यात्री तथा सवारी साधनहरूका लागि वैकल्पिक मार्ग तोकिएको छ। चौरजहारी रुकुम पश्चिमदेखि कुदु जाजरकोट झोलुङ्गे पुल हुँदै यात्रा गर्न सबैमा अनुरोध गरिएको छ।





प्रतिक्रिया