दुल्लुका वडा सचिवलाई धम्क्याउने व्यक्तिलाई कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

दुल्लुका वडा सचिवलाई धम्क्याउने व्यक्तिलाई कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नाम दुरुपयोग गर्दै कर्मचारीलाई अभद्र भाषामा धाकधम्की दिएको घटनाप्रति सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई प्रकाश खड्का नाम गरेका व्यक्तिले फोनमार्फत धम्क्याएको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयले यस्तो प्रतिक्रिया दिएको छ ।

कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालद्वारा जारी प्रेस विज्ञप्तिमा पदीय मर्यादाविपरीत राष्ट्रसेवक कर्मचारीलाई भय र त्रास सिर्जना गर्ने तथा अमर्यादित शब्द प्रहार गर्ने कार्यलाई निन्दनीय र अक्षम्य भनिएको छ ।

घटना सार्वजनिक हुनासाथ प्रधानमन्त्री कार्यालयले दोषी खड्कालाई तत्काल कानुनको दायरामा ल्याई कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित सुरक्षा एवं अनुसन्धान निकायलाई कडा निर्देशन दिएको छ । ‘सम्माननीय प्रधानमन्त्रीज्यू सुशासन, विधिको शासन तथा राष्ट्रसेवक कर्मचारीको व्यावसायिक सुरक्षा र उच्च मनोबलका पक्षमा दृढ हुनुहुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री कार्यालयले कुनै पनि व्यक्तिले निजी स्वार्थका लागि प्रधानमन्त्री, उनको सचिवालय वा कार्यालयको नाम लिएर फोनमार्फत धम्की दिने, बार्गेनिङ गर्ने वा नाजायज दबाब दिने कार्य गरेमा त्यस्तो भ्रममा नपर्न सर्वसाधारणमा अपिल गरेको छ । यस्ता गतिविधिबारे तत्काल नजिकको सुरक्षा निकाय वा सिधै प्रधानमन्त्री कार्यालयमा जानकारी गराउन समेत आग्रह गरिएको छ ।

आगामी दिनमा यस्ता दुरुपयोग र भ्रमबाट बच्नका लागि प्रधानमन्त्री कार्यालय वा सचिवालयको नाम जोडेर आउने कुनै पनि शंकास्पद फोन वा सन्देशलाई आधिकारिक माध्यमबाट अनिवार्य रूपमा प्रमाणीकरण गरेर मात्र काम अघि बढाउन सम्पूर्ण सरकारी निकाय र स्थानीय तहलाई विशेष आग्रह गरिएको छ । सुशासनको महाअभियानमा विधिको शासनलाई चुनौती दिने जो–कोहीलाई कानुनबमोजिम कडा कारबाही गरिने प्रतिबद्धता समेत सरकारले व्यक्त गरेको छ ।