काठमाण्डु– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई औपचारिक स्वतन्त्रताको घोषणा गर्नबाट बच्न चेतावनी दिएको केही समयपछि ताइवानले आफू एक ‘स्वतन्त्र राष्ट्र’ भएको घोषणा गरेको छ ।
ताइवानको विदेश मन्त्रालयले आइतबार ताइवान एक ‘स्वतन्त्र राष्ट्र’ भएको घोषणा गरेको हो । चीनको भ्रमणपछि ट्रम्पले दिएको एक अन्तर्वार्तामा ताइवानलाई स्वतन्त्रताको घोषणा नगर्न र यस्तो कदमले क्षेत्रीय तनाव निम्त्याउन सक्ने चेतावनी दिएका थिए ।
फक्स न्यूजको अन्तर्वार्तामा ट्रम्पले भनेका थिए, ‘म कसैले स्वतन्त्रताको घोषणा गरोस् भन्ने चाहन्नँ । हामीलाई नौ हजार ५०० माइल टाढा गएर युद्ध लड्नुपर्ने स्थिति चाहिँदैन ।’
तर ताइवानी विदेश मन्त्रालयले ट्रम्पको चेतावनीप्रति कुनै प्रतिक्रिया नजनाइ ताइवान स्वतन्त्र लोकतान्त्रिक राष्ट्र भएको घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
‘ताइवान एक सार्वभौम र स्वतन्त्र लोकतान्त्रिक राष्ट्र हो र यो पिपुल्स रिपब्लिक अफ चाइना (चीन) को अधीनमा छैन’ विदेश मन्त्रालयले भनेको छ ।
चीनले ताइवानलाई आफ्नो अभिन्न हिस्सा भन्दै पुरानै अडान दोहोर्याएको छ । ताइवान-अमेरिका–चीनबीचको यो तनावले क्षेत्रीय सुरक्षा सन्तुलन अस्थिर हुनसक्ने विश्लेषण गरिएको छ ।
चीनको भ्रमणमा रहँदा चिनियाँ समकक्षी सी चिनफिङले ताइवानको मुद्दामा समर्थन नगर्न राष्ट्रपति ट्रम्पलाई पनि आग्रह गरेका थिए । त्यसलगत्तै ट्रम्पले ताइवानलाई औपचारिक स्वतन्त्रताको घोषणा नगर्न आह्वान गरेका थिए । ट्रम्पको पछिल्लो भनाइसँगै ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र घोषणा गरेको हो ।
चीनले बलपूर्वक नियन्त्रण नगरोस् भनेर ताइवान लामो समयदेखि आफ्नो सुरक्षाका लागि अमेरिकाको समर्थनमा निर्भर रहँदै आएको छ । चीनले ताइवानलाई आफ्नो क्षेत्रको हिस्सा मान्दै लगातार दाबी गर्दै आएको छ ।
अमेरिकाले आधिकारिक रूपमा केवल चीन सरकारलाई मात्र मान्यता दिन्छ र ताइवानको औपचारिक स्वतन्त्रताको समर्थन गर्दैन । यद्यपि, अमेरिकाले आफू स्वतन्त्रताको पक्षमा छ वा विपक्षमा भन्ने विषयमा सधैँ स्पष्ट धारणा सार्वजनिक गरेको छैन ।
अमेरिकी कानुनअन्तर्गत अमेरिका ताइवानलाई आत्मरक्षाका लागि हतियार उपलब्ध गराउन बाध्य छ । तर, कुनै संघर्ष वा युद्धको स्थितिमा अमेरिकी सेनाले प्रत्यक्ष हस्तक्षेप गर्छ कि गर्दैन भन्ने विषय अस्पष्ट नै राखिएको छ ।
बेइजिङमा भएको वार्ताका क्रममा चिनियाँ राष्ट्रपति सीले ताइवान मुद्दालाई लिएर ट्रम्पलाई चेतावनी दिएका थिए । उनले यस संवेदनशील विषयमा चालिने कुनै पनि गलत कदमले संघर्ष निम्त्याउन सक्ने बताएका थिए ।
ताइवानको राष्ट्रपति कार्यालयले शनिबार अमेरिकाले ताइवानसम्बन्धी आफ्नो नीतिमा कुनै परिवर्तन नगरेको जनाएको थियो ।
हालै ताइवानको संसद्ले २५ अर्ब डलरको रक्षा बजेट स्वीकृत गरेको छ, जसको उपयोग अमेरिकी हतियार खरिदका लागि गरिनेछ ।
यसमा डिसेम्बरमा घोषित ११ अर्ब एक करोड डलरको हतियार प्याकेजमध्येबाट करिब ९ अर्ब डलर समावेश छ । यसबाहेक १५ अर्ब डलरभन्दा बढीको दोस्रो चरणको हतियार बिक्री पनि प्रस्तावित छ, जसलाई अमेरिकाले अहिलेसम्म स्वीकृति दिएको छैन ।
धेरै ताइवानीहरू आफूलाई छुट्टै राष्ट्रको हिस्सा मान्छन् । तर धेरैजसो नागरिक ताइवानले चीनबाट स्वतन्त्रता घोषणा नगर्ने र चीनसँग नजोडिने हालकै यथास्थिति कायम राख्ने पक्षमा पनि छन् ।
अमेरिकासँग ताइवानको औपचारिक सम्बन्ध छैन । यद्यपि यसले महत्त्वपूर्ण अनौपचारिक सम्बन्ध कायम राखेको छ । अमेरिकी राष्ट्रपतिहरू परम्परागत रूपमा ताइवानका नेतासँग सीधै कुरा गर्दैनन् र त्यसो गरेमा बेइजिङसँग महत्वपूर्ण तनाव उत्पन्न हुने सम्भावना हुन्छ । बेइजिङले ताइवानका राष्ट्रपति लाइ चिङ–तेलाई पृथकतावादी मान्छ ।




प्रतिक्रिया