काठमाण्डु – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति वार्ता ठप्प बनेपछि कडा चेतावनी दिएका छन् ।
युद्ध अन्त्य गर्ने समय सकिँदै गरेको भन्दै ट्रम्पले इरानलाई चाँडै सहमतिमा पुग्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत ट्रम्पले इरानले छिटो निर्णय नगरे इरानमा केही पनि बाँकी नरहने चेतावनी दिएका छन् ।
ट्रम्पले लेखेका छन्, ‘उनीहरू चाँडो अघि बढेको राम्रो, नत्र उनीहरूको केही पनि बाँकी रहने छैन ।’ ट्रम्पको यस भनाइलाई इरानलाई तत्काल सम्झौता गर्न दबाब दिएको संकेतका रूपमा हेरिएको बीबीसीले उल्लेख गरेको छ ।
यसबीच ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भेट गर्ने कार्यक्रम रहेको समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
इरानी सञ्चारमाध्यमका अनुसार अमेरिकाले तेहरानको पछिल्लो प्रस्तावमा कुनै ठोस निर्णय नदिएको आरोप छ । इरानको अर्ध–सरकारी समाचार संस्था मेहरले यस्तो अवस्थाले वार्तालाई गतिरोध तर्फ धकेल्ने जनाएको छ ।
इरानले युद्ध पूर्ण रूपमा अन्त्य गर्न, अमेरिकी नाकाबन्दी हटाउन तथा भविष्यमा आक्रमण नगर्ने ग्यारेन्टी माग गरेको छ ।
साथै हर्मुज जलमार्गमाथिको आफ्नो सार्वभौमिक अधिकार कायम रहने विषय पनि प्रस्तावमा समेटिएको छ । अमेरिकाले इरानलाई केवल एउटा आणविक केन्द्र सञ्चालनमा राख्न र उच्च स्तरको युरेनियम भण्डार अमेरिकालाई हस्तान्तरण गर्न माग गर्दै आएको छ ।
यसअघि ट्रम्पले इरानको आणविक कार्यक्रम २० वर्षका लागि स्थगित गरिए स्वीकार गर्न सकिने संकेत दिएका थिए । फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि व्यापक हवाई आक्रमण सुरु गरेका थिए । अप्रिलमा युद्धविराम घोषणा भए पनि बीच–बीचमा तनाव र छिटपुट आक्रमण भइरहेका छन् ।
इरानले अझै पनि विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्गमा नियन्त्रण कायम राखेको छ । यस मार्गबाट विश्वको झण्डै २० प्रतिशत तेल तथा ग्यास ओसारपसार हुने भएकाले तनावका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ ।




प्रतिक्रिया