काठमाण्डु- मोरङको उर्लाबारीका युवा उद्यमी भूपेन्द्र खनाल र उनकी श्रीमती स्नेहा खनालले विश्व चर्चित कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा सहभागिता जनाएका छन् । घरपालुवा जनावरसम्बन्धी उत्पादन तथा सामाजिक सञ्जाल विश्लेषण व्यवसायमार्फत अन्तर्राष्ट्रिय पहिचान बनाएका खनाल दम्पत्ती फ्रान्सको राजधानी पेरिसमा जारी फेस्टिभलमा सहभागी भएका हुन् ।
खनाल दम्पत्तीले उत्पादन गर्दै आएको डगसी च्यु नामक घरपालुवा कुकुरका लागि बनाइने च्यु उत्पादनले उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराएको हो । घरपालुवा जनावरप्रति देखाएको विशेष लगाव र नवप्रवर्तनकारी व्यवसायका कारण उनीहरूलाई कान्सको रेड कार्पेटमा हिँड्ने अवसर प्राप्त भएको बताइएको छ ।
भूपेन्द्र खनालले सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव साझा गर्दै लेखेका छन् विश्वका गज्जब कथाले दर्शक पाउँछन् । डगसीको सुरुवात नै घरपालुवा जीवको महत्त्व दर्शाउने बोल्ड विश्वासबाट भएको थियो । आज त्यही विश्वासले हामीलाई ७९औँ कान्स फिल्म फेस्टिभलसम्म ल्याएको छ । ठूलो सोच्दा र आफ्नो भिजनमा विश्वास गर्दा यस्तो सम्भव हुँदोरहेछ ।
खनाल दम्पत्तीले डगसी कम्पनी सन् २०१५ मा स्थापना गरेका थिए । उनीहरूले सिम्प्लिफाइ ३६० नामक सामाजिक सञ्जाल मूल्यांकन गर्ने कम्पनीसमेत सञ्चालन गर्दै आएका छन् ।
नेपालका युवाले अन्तर्राष्ट्रिय मञ्चमा हासिल गरेको यो उपलब्धिलाई सामाजिक सञ्जालमा धेरैले प्रेरणादायी सफलताको रूपमा चर्चा गरिरहेका छन् ।




प्रतिक्रिया